अब वैधानिक जनसत्ताः गृहमन्त्री


 

रुकुम, (नेस)
गृहमन्त्री जनार्दन शर्माले रुकुममा अव वैधानिक रूपमा जनसत्ता चलाइने दाबी गर्नुभएको छ। रुकुम माओवादीको मात्र भूमि भएकाले रुकुमेली जनताले माओवादी मात्र चाहेको विचार व्यक्त गर्नुभयो। पूर्वी रुकुमको सिस्ने गाँउपालिकामा उम्मेदवारको मनोनयन पत्रपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले युद्धको बेला रुकुमबाटै जनसत्ताको विकास भएकाले स्थानीय तहको निर्वाचनमार्फत अब वैधानिक रूपमै जनसत्ता चलाउने बताउनुभयो।

आफूहरू जनताको कामदार भएको बताउँदै उहाँले रुकुमेली जनताको माओवादीप्रतिको समर्पणले आफूलाई काम गर्ने उर्जा दिने गरेको बताउनुभयो। पूर्वीरुकुमको पीडा आफूलाई मात्र थाहा भएको बताउँदै उहाँले पूर्वीरुकुमलाई छुट्टै केन्द्र बनाउने प्रयास आफूले गरिरहेको बताउनुभयो। निर्वाचनको शिलशिलामा रुकुम जिल्ला दुई प्रदेशमा विभाजन भएको सन्दर्भमा गृहमन्त्रीले राम्रोभन्दा राम्रो विकल्पका लागि आफूहरूले सरसल्लाह गरिरहेको बताउनुभयो।

मन्त्री शर्माले स्थानीय तहको निर्वाचनका लागि अन्य दलले आफूसँग तालमेलको प्रस्ताव ल्याएर आएको बताउँदै आफूले रुकुमका जनताले माओवादी चाहन्छन् तालमेल चाहदैनन् भनेर जवाफ दिएको खुलासा गर्नुभयो। पहिलो चरणको स्थानीय तहको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचनमा पनि रुकुममा माओवादीको मात्र जित हुने दाबी गर्नुभयो।