हत्याको अभियोगमा ३० जनालाई मृत्युदण्ड


 

कायरो, (एजेन्सी)
इजिप्टको राजधानी कायरोस्थित एक अदालतले शनिबार त्यहाँका एकजना वरिष्ठ न्यायाधीशको हत्यामा संलग्न रहेको अभियोगमा ३० जना व्यक्तिलाई मृत्युदण्ड सुनाएको छ। हिसाम बाराकात नामक ती न्यायाधीशलाई सन् २०१५ को जुनमा एक कार बम आक्रमणमा हत्या गरिएको थियो।

पछिल्ला वर्षहरूमा लडाकूहरूद्वारा मारिनेमा उनी सबैभन्दा वरिष्ठ सरकारी अधिकारी हुन्। बाराकातले इजिप्टको मुश्लिम ब्रदरहुद समर्थित मोहमद मोर्सीको सरकारलाई सन् २०१३ मा अपदस्थ गरिएयता हजारौं इस्लामिकहरूलाई मुद्दा चलाएका थिए।

मोर्सीको पतनसँगै प्रतिवन्त्र लगाइएको मुश्लिम ब्रदरहुदका सयौं कार्यकर्तालाई मृत्युदण्ड वा आजिवन कारावास सुनाइएको थियो। इजिप्ट सरकारले उक्त कार बम आक्रमणका लागि ब्रदरहुद र प्यालेस्टाइनको गाजा स्थित हमास लडाकू समूहलाई दोष दिएको थियो।

तर तिनीहरू दुवैले सो आरोप अस्वीकार गरेका थिए। गत वर्ष इजिप्टको गृह मन्त्रालयले थुप्रै पुरुषले गाजामा गएर हमास लडाकूहरूबाट तालिम प्राप्त गरी बाराकातको हत्या गरेको स्विकारिरहेको भिडियो सार्वजनिक गरेको थियो।

तर तीमध्ये केहिले पछि अदालतमा आफूहरू विरुद्धको अभियोग अस्वीकार गर्दै यातना दिएर प्रहरीले जवर्जस्ती अपराध कबुल गर्न लगाएको बताएका थिए। अब हिजोको अदालतको निर्णयलाई अन्तिम अनुमोदनका लागि इजिप्टको सर्वोच्च धार्मिक निकाय ग्रयान्ड मुफ्टीमा पठाइने भएको छ। इजिप्टमा मृत्युदण्ड सम्बन्धी सम्पूर्ण अदालती निर्णयलाई ग्रायन्ड मुफ्टीमा पठाइने चलन रहेको छ। तर ग्रायन्ड मुफ्टीको अनुमोदन बाबजुद पनि अभियोगविरुद्ध अझै अपिल गर्न सकिन्छ।