हवाई यात्रु बढे

0
Shares

 

दीपेन्द्र थापा, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने यात्रुको संख्या प्रत्येक महिना बढ्दो क्रममा रहेको तथ्याकं छ। अव्यवस्थित सडक र राजमार्गको यात्रा असुरक्षित रहेका कारण हवाई यात्रुको संख्या बढ्दै गएको छ।

विमानस्थलको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा आन्तरिक र बाह्य गरी कुल ८ हजार १ सय ४८ उडानमार्फत् ९ लाख ३८ हजार ८ सय ४३ जना यात्रुले उडान गरेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकमा दैनिक औसत २ सय १९ अवतरण र उडान हुँदै आएको छ। अन्तर्राष्ट्रियमा दैनिक करिब सय उडान र अवतरण हुँदै आएको छ। सन् २०१७ को जनवरी महिनामा २ हजार ६६७ उडानमार्फत् ३ लाख १८ हजार ८३८ जनाले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो महिनाभन्दा ५२ हजार ६ सय ९५ ले कम हो।

त्यस्तै फेब्रुअरीमा २५ सय ४९ उडानमार्फत् २ लाख ६६ हजार १४३ यात्रुले यात्रा गरेको विमानस्थलको तथ्यांकमा उल्लेख छ। यो अघिल्लो महिनाभन्दा ५२ हजार ६ सय ९५ ले कम हो। तर, मार्च महिनामा भने उडान संख्या र यात्रुको संख्यामा वृद्धि भएको छ । मार्चमा २९ सय ३२ वटा उडानमार्फत ३ लाख ५३ हजार ८६२ यात्रुले हवाई यात्रा गरेका छन्। जसमध्ये १४ सय ६४ उडानमार्फत् १ लाख ९० हजार ८ सय ३९ बाहिरिएका छन् भने १४ सय ६८ उडानमार्फत् १ लाख ६३ हजार २३ जना अवतरण गरेका छन्।

झन्झटिलो सडक यात्रा तथा निजी हवाई कम्पनीबीचको प्रतिस्पर्धाले गर्दा हुँदा हवाई यात्रु बढ्दै गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो।’

नागरिक उडड्यन प्रधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार आन्तरिक उडानमा यात्रु बढेसँगै जहाज थप्ने होडबाजी चलेको छ। नयाँ जहाज थपिँदै गइरहेको त्यस अनुरूपको संरचना बढाउन विमास्थलको नसकिएको हुँदा विमानस्थलमा पार्किङको समस्या बढ्दै गएको श्रेष्ठको भनाइ छ। यसलाई सुधार गर्न हाल भइरहेको खाली जग्गामा हेलिप्याड निर्माणको लागि सरकारसँग १ अर्ब रुपियाँ बजेट माग गरिएको प्राधिकरणले जनाएको छ।

बजेट आएपछि अहिले हेलिकप्टर पार्किङ गरिरहेको क्षेत्रबाट पूर्वतर्फको बुद्ध एयरको ह्याङगर नजिकको खाली जग्गामा हेलिकप्टर पार्किङ र उडान गर्न गरी विमानस्थलको तयारी थालेको छ। करिब वटा ३० हेलिकप्टर अट्ने गरी हेलिप्याड बनाउने तयारी भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उक्त हेलिप्याडबाट हेलिकप्टरले उडान भरेपछि हेलिकप्टरले रनवे क्रस गर्नु पर्दैन र जहाज उडानमा थप सहज हुने प्राधिकरणले जनाएको छ । सबै किसिमको उपकरण राखेर पेप्सीकोलामा रहेको गेटबाटै उक्त हेलिप्याडमा छिर्ने व्यवस्था गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले बताउनु भयो।
हाल विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ २८ कम्पनीका जहाज र नेपालका २० वटा (हेलिकप्टरसहित) कम्पनीका जहाजले आन्तरिक तथा बाह्य उडान भर्दै आएका छन्। नेपालमा हाल करिब ८६ वटा जहाज रहेका छन्। २०७३ सालमा मात्र १६ जहाज नेपाल भित्रिएका छन्। २०७४ को शुरूआतमै ३ जहाज भित्रिसकेका छन् । १ जहाज ग्राउन्ड्ड छन् भने ७५ जहाजले नियमित उडान गरिरहेका प्राधिकरणले जनाएको छ ।