लघु उद्यमीहरूको प्रदर्शनी हुँदै

0
Shares

 

शेरबहादुर थापा, सुर्खेत
सुर्खेतमा रहेका लघु उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी गरिने भएको छ। गरिबी निवारण कोष सुर्खेतको आयोजनामा विभिन्न गाउँपालिका र नगरपालिकाका सामुदायिक संस्थाका उद्यमीले भाग लिने बताइएको छ। असार ११ गते सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरपार्कमा गरिने प्रदर्शनीका लागि जिल्ला समन्वय समितिका सामाजिक अधिकृत टंक लामिछानेको संयोजकत्वमा साझेदार संस्थाका प्रमुखसहित पाँच सदस्यीय समिति समेत निर्माण गरिएको छ।जिल्ला कार्यक्रम संयोजक टीकाराम पोखरेलका अनुसार विभिन्न पाँच वटा सीपमा तालिमका उद्यमीहरूले सहभागिता जनाउने छन्।

उनीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरूको बारेमा एक आपसमा जानकारी दिने र बजारका व्यवस्थापन समेत गर्नका लागि सहज हुन प्रदर्शनीले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो। स्वरोजगारी वा साना व्यवसायबाट हुने आय आर्जनले ग्रामीण तहमा रोजगारीका अवसरको सिर्जना गर्ने पोखरेलले बताउनुभयो। ‘कोषले सुर्खेतमा रहेका जम्मा २९७ सामुदायिक संस्थामध्ये एउटा संस्था र एक जना उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम राखेको छ,’ उहाँले भन्नुभयो–‘विपन्न तथा बहिष्करणमा परेका समुदायलाई विकासका गतिविधिमा संलग्न गराई विकासको मूलप्रवाहमा ल्याउनु हो।’ उहाँले परम्परागतरूपमा जातिगत, लैंगिक एवम् भौगोलिक अवस्थितिका कारण बहिष्करणमा परेका गरिब समुदायको जीवनस्तरमा सुधार ल्याउने र सशक्तिकरण गर्ने उद्देश्य रहेको जनाउनुभयो। उद्यमीको सम्बन्ध आय आर्जन कार्यसँग जोडिएको भएकाले कार्यान्वयनसँगै समुदायमा दिगो जीविकोपार्जनका लागि रोजगारी सिर्जना, आय आर्जन तथा उत्पादकत्वमा बृद्धि हुने उनले अपेक्षा राखिएको बताउनुभयो। सामुदायिक संस्थाका सदस्यलाई अचार उत्पादन, जुत्ता सिलाई र  खेलौना निर्माण सम्बन्धी तालिम दिइएको साझेदार संस्था स्याक नेपालका कार्यक्रम अधिकृत तेज सोनामले बताउनुभयो। यसका साथै हाते बुनाई र दालमोठ उत्पादन सम्बन्धी ८३ जनालाई तालिम दिइएको उहाँले जानकारी दिनुभयो। प्रदर्शनीका लागि स्याक नेपाल, वाम संस्था, कोडेड नेपाल, सुन्दर नेपाल संस्था र जिल्ला कोषका कार्यक्रम संयोजकलगायत सामुदायिक परिचालक सहितको उपसमिति समेत निर्माण गरिएको छ।