नेपालको पूर्वाधारमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

0
Shares

 

काठमाडौं, (नेस)
कोरियाको जेजुमा जुन १६ देखि १८ तारिखसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभनर्सको दोस्रो वार्षिक बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधारको आवश्यकता, पूर्वाधार विकासका लागि रहेको स्रोतको अपर्याप्तता र यसमा बैंकले गर्न सक्ने सहयोगका बारेमा चर्चा गर्नुभएको छ।

मन्त्री कार्कीले नेपाल क्रमशः राजनीतिक स्थिरतातर्फ उन्मुख रहेको र आर्थिक कार्यसूचीलाई राजनीतिक दलले प्राथमिकतामा राखेको हुँदा अबका दिनमा कार्यान्वयनमा सहजता र शिघ्रता आउने बताउनुभयो। उहाँले नेपालको आर्थिक स्थिति क्रमशः सुधारोन्मुख अवस्थामा रहेको र यसलाई निरन्तरता दिन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ। नेपालको यातायात, विद्युत् उत्पादन तथा प्रसारण, शहरी विकास र खानेपानीका साथै हवाई र सूचना प्रविधि पूर्वाधारलाई प्राथमिकतामा राखेकाले यी क्षेत्रहरूमा बैंकको लगानीको अपेक्षा राखेको समेत बताउनुभयो।

अर्थमन्त्री कार्कीले बोर्ड अफ गभनर्सको दोस्रो बैठकको अन्तिम सत्रमा बोल्दै नेपालमा पूर्वाधारका लागि कूल गार्हस्थ उत्पादनको ९ देखि १० प्रतिशत लगानी गर्नुपर्ने आवश्यकता रहेको तर हाल करिब ४ प्रतिशत मात्र लगानी गर्न सकिएकाले यो अन्तर कम गर्न एसियाली पूर्वाधार लगानी बैंकको सहयोगका लागि अनुरोध समेत गर्नुभयो। सार्वजनिक–निजी अवधारणाअन्तर्गत योजनामा सरकार र निजी क्षेत्रलाई सहयोग गर्न बैंकले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

दिगो पूर्वाधारलाई मुल कार्यसूची बनाएर सम्पन्न बैठकमा जलवायु परिवर्तनका नकारात्मक असर कम गर्दै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिइएको थियो। बैंकले अंगीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’ को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्वन उत्सर्जन गर्ने आयोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्ने बारेमा छलफल भएको थियो।

एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभनर्सको दोस्रो वार्षिक बैठकमा अर्थमन्त्री कार्कीसहित ६ सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो। उक्त बैठकमा ४५ क्षेत्रीय र ३२ गैरक्षेत्रीय सदस्य राष्ट्रको सहभागिता रहेको थियो। यो बैठकले थप ३ राष्ट्रको सदस्यता स्वीकृत गरेपछि अब यस बैंकमा ८० राष्ट्र सदस्य भएका छन्।