व्यापारघाटा निरन्तर बढ्दो

0
Shares

हेमन्त जोशी, काठमाडौं
यातको तुलनामा निर्यात खुम्चिदै गएपछि मुलुकको व्यापारघाटा निरन्तर बढ्दो छ। वैदेशिक व्यापारको दायरा फराकिलो हँुदै गए पनि आयात र निर्यातबीचको खाडल बढ्दो क्रममा छ ।

अघिल्ला आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिनामा मात्र व्यापारघाटा झण्डै २ खर्ब रुपियाँले बढेको छ। चालू आर्थिक वर्षको समिक्षा अवधिमा व्यापारघाटामा ३५ दशमलब ४ प्रतिशतले वृद्धि भई ७ खर्ब ४६ अर्ब १८ करोड रुपियाँ पुगेको छ।

यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० दशमलब ७ प्रतिशतले वृद्धि भई ८ खर्ब ६८ अर्ब ३२ करोड रुपियाँ पुगेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ प्रतिशत र ९३ प्रतिशत रहेको छ। मुलुकको कूल निकासी ७ दशमलब ७ प्रतिशतले वृद्धि भई ६१ अर्ब ७ करोड रुपियाँ तथा कूल पैठारीमा ३२ दशमलब ८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब २५ करोड पुगेको छ।

निकासी प्रवद्र्धनका लागि सरकारले प्राथमिकतामा राखेका वस्तुको निर्यातको अवस्था पनि सन्तोषजनक छैन। ती वस्तुको वैदेशिक व्यापार सन्तुति नै रहे पनि निर्यात परिमाण भने खस्किँदो छ। नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि प्रमुख रहेका छन्।

यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ७ दशमलब ८ प्रतिशतले ह्रास आई ६ अर्ब १७ करोड रुपियाँ, तयारी पोशाकको निर्यातमा ९ दशमलब ५ प्रतिशतले ह्रास आई ४ अर्ब ३५ करोड रुपियाँ पुगेको छ।

त्यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १९ प्रतिशतले वृद्धि भर्ई ४ अर्व ६१ करोड रुपियाँ, पोलिष्टर तथा अन्य धागोमा २७ दशमलब ९ प्रतिशतले वृद्धि भई ५ अर्व ४५ करोड रुपियाँ, मुसुरोको दालमा १२ प्रतिशतले ह्रास आई ६३ करोड रुपियाँ पुगेको छ।

त्यस्तै ६१ करोड रुपियाँ बराबरको छाला, ३ अर्व ५० करोड रुपियाँ को अलैंची, २ अर्व १२ करोड रुपियाँ को चिया, २२ करोड रुपियाँ को अदुवा, ६९ करोड रुपियाँको चाउचाउ निर्यात भएको छ। त्यस्तै निर्यात ६७ करोड रुपियाँको जडिवुटी , ५७ करोड रुपियाँको टुथपेष्ट, ७१ अर्ब रुपियाँको टेक्सटाइल, २ अर्ब १ करोड रुपियाँको पश्मिना सल निर्यात भएको छ।

 

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन्। पैठारीतफ चालू आर्थिक वर्षको १० महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा ३८ दशमलब ८ प्रतिशतले वृद्धि भई ८४ अर्व २१ करोड रुपियाँ पुगेको छ।

पेट्रोलियम पदार्थमा आयातमा ९९ दशमलब ३ प्रतिशतले वृद्धि भई ९९ अर्व ६५ करोड रुपियाँ, यातायातका साधन र तिनका पार्टपूर्जामा ४४ दशमलब ४ प्रतिशतले वृद्धि भई ६८ अर्ब ४६ करोड रुपियाँ , इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा २२ दशमलब ६ प्रतिशतले वृद्धि भई ३२ अर्व ५४ करोड रुपियाँ बराबरको आयात भएको छ। यस अवधिमा औषधिजन्य वस्तुको आयातमा मात्र ह्रास आएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा औषधिको आयातमा १० दशमलब ७ प्रतिशतले ह्रास आई १९ दशमलब ६५ अब रुपियाँ, मेसिनरी तथा पार्ट्समा ५८ दशमलब ९ प्रतिशतले वृद्धि भई ६८ दशमलब २७ अर्ब रुपियाँ, पोलिथिन ग्रेन्युल्समा ६ दशमलब २ प्रतिशतले वृद्धि भई १३ अर्व १६करोड रुपियाँ, कच्चा पाम आयलमा ७८ दशमलब ७ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड रुपियाँ, दूरसञ्चारका सामग्रीमा ३८ दशमलब ६ प्रतिशतले वृद्धि भई २५ अर्व ६३ करोड रुपियाँ बराबरको पैठारी भएको छ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइल्यान्ड, अर्जेन्टिना, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, क्यानडा, साउदी अरेबिया, मलेसिया, भियतनाम र जापान प्रमुुख रुपमा रहेका छन्।

नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टिलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको देखिन्छ। संयुक्तराज्य अमेरिकातर्फ ऊनी गलैंचा, तयारी पोशाक, काँचका सामान, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु सारतेल सुतीका झोला प्रमुख रुपमा निर्यात भएका छन्। जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामान, चिया टोपी सुतीका झोला, हस्तकलाका सामान कागजका उत्पादन र ट्रान्सफर्मरहरु निर्यात भएको पाइन्छ।

नेपालको प्रमुख साझेदार बेलायततर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामान, सुती झोला र तयारी चाउचाउ उल्लेख्य मात्रमा निर्यात भएका छन्। नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ धागो, छाला, ऊनी गलैंचा, टोपी, औषधि र हस्तकलाका सामानहरु निर्यात भएका छन।

 

मुलुकमा आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपूर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। नेपालको आयात व्यापारमा दोस्रो स्थानमा रहेको उत्तरतर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्रीहरु, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपूर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन्।

अर्को प्रमख आयातको स्रोत मुलुक युएईबाट भने सुनचाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको देखिन्छ।