चैते धानको उत्पादन दोब्बर

0
Shares

पर्वत, (नेस)
कुस्मा १ अर्मादीका रुद्रबहादुर केसीले १८ रोपनीमा सीएच–४५ जातको चैते धान लगाउनु भएको छ। विगतका वर्षमा बाँझै हुने उहाँको खेतमा यो वर्ष करिब ९० मुरी धान फल्यो। प्रतिमुरीको दुई हजारका दरले बिक्री गर्दा उहाँले एक लाख ८० हजार आम्दानी गर्दै हुनुहुन्छ। केसीसहित अर्मादीका करिब १५ परिवारले यो वर्ष चैते धान लगाएका छन्।

जिल्लाको पैयुँ गाउँपालिकाका भोर्ले, सरौंखोला, बेउलीबास, हुवास, टकलाक, रानीपानी, त्रिवेणी, कुर्घा, पाङराङलगायतका किसानलाई अहिले यस्तै चिन्ता छ। सिँचाइको राम्रो सुविधा भएकाले मौसमले साथ दिएसम्म सबैले चैते धान रोप्छन्।

असारको अन्तिमसम्म चैते धान थन्क्याएर असारे धान रोपिसक्नुपर्ने भएकाले दोस्रो र तेस्रो साता निकै व्यस्तता हुन्छ। ‘कसै–कसैको घरमा मान्छे खसे पनि खबर नगर्ने चलन हुन्छ,’ भोर्लेकी उमादेवीले भनिन्, ‘बाहिर खेताला खोज्दा पाउने आशा हुँदैन, एकदुई दिन ढिला भए माझ परेर रोप्नै पाइन्न।’

पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुगेकाले आधुनिक बीउ र मलको भने समस्या नभएको किसानले बताएका छन्।

मनसुनसँगै भारी वर्षा हुने भएकाले स्थानीय सहकारीहरूले वर्षाअघि नै आवश्यक मल सञ्चित गरेर राख्ने गर्छन्। धेरै आम्दानी दिने भनेर प्रचार गरिए पनि हत्तपत्त हाइब्रिड बीउमा यस क्षेत्रका किसानको आकर्षण छैन। ‘एकपटक राम्रो फल्ने भनेर इन्डियन धान रोपेको, अर्को वर्ष त्यो बीउ नभएपछि फेरि किन्नुपर्यो,’ बेउलीबासका कृष्ण न्यौपानेले भन्नुभयो–‘ त्यसपछि कहिल्यै विकासे बीउ खोजेकै छैन। यो क्षेत्रमा धेरैजसो जर्नेली, सीता मन्सुली, बास्मती, अनदी, झिनुवा, मकवानपुरेलगायतका धान रोप्ने गरेको उहाँले बताउनुभयो।

 

पानी कम हुने ठाउँमा थापा चिनी रोप्ने गरिएको उहाँले बताउनुभयो। पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे र सात सय हेक्टरमा चैते धानको खेती हुँदै आइरहेको कृषि कार्यालयले जनाएको छ।