नतिजा झनै खस्कियो

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
सरकारले शिक्षामा जतिसुकै सुधार गरेको दाबी गरे पनि विज्ञान, गणित र अंग्रेजीलगायत विषयमा विद्यार्थी उत्तीर्ण प्रतिशत अति कमजोर देखिएको छ।

यी विषयमा सुधार हुने कुनै लक्षण देखापरेको छैन। परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी कमजोर अनिवार्य गणितमा देखिएको छ। सो विषयमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीको संख्या १ लाख ५० हजार ९ सय ६६ छन्। सो विषयमा ५६ हजार १ सय १० जनाले ‘डी’ ल्याएका छन्। ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले साधारणतर्फको कक्षा ११ पढ्न पाउँदैनन्।

गणितमा २८ हजार १३ जनाले ‘ए’ प्लस ल्याएका छन्। गणितमा मात्रै २ लाख ३८ हजार ४ सय ८८ जना विद्यार्थी तत्काल ११ कक्षा पढ्न लायक देखिएका छैनन्। अनिवार्य अंग्रेजीको हालत पनि त्यस्तै छ अंग्रेजीमा ९ हजार ४ सय १० जनामा मात्रै ‘ए’ प्लस ल्याएका छन्।

सो विषयमा ७१ हजार ३ सय ९२ जनाले ‘ई’ ग्रेड ल्याएका छन्। ७७ हजार ६ सय ३७ जनाले ‘डी’ र ६८ हजार ५ जनाले ‘डी’ प्लस ल्याएका छन्। ‘यस्तो अवस्थामा नेपालको शिक्षामा कसरी सुधार हुन्छ? अब सबैलाई प्राविधिक शिक्षा पढाउनुको विकल्प देखिँदैन।’ –शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भन्नुभयो। उहाँले सरकारले समयमै ध्यान नदिए शैक्षिक दुर्घटना हुन सक्ने चेतावनीसमेत दिनुभएको छ।

नपढे पनि पास हुन्छौं भन्ने भावना बढेकाले प्रगति घट्दै गएको शिक्षा विद्हरूको धारणा रहेको छ। विषयगत मूल्याङ्कन गर्दा पाँचवटा अनिवार्य विषयमा अधिकांश विद्यार्थीको अवस्था अति नै दयनीय देखिएको छ। विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य जनसंख्या र वातावरण शिक्षामा विद्यार्थी अति नै कमजोर देखिएका छन्। तथ्याङ्क केलाउँदा विज्ञानमा १ लाख १० हजार ७ सय ११ जनाले ‘ई’, ८४ हजार ८० ले ‘डी’, ७० हजार ३ सय ४७ जनाले ‘डी’ प्लस ल्याएका छन्।

‘विज्ञानमा ७ हजार ५ सय ४४ जनाले ‘ए’ प्लस ल्याएका छन्। स्थिति अत्यन्तै नाजुक छ’, शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले भन्नुभयो– ‘समयअनुसार पाठ्यक्रम र पठनपाठन र मूल्याङ्कनको कमी भएर यो गति आएको हो।’ उहाँले अबको ७ वर्षभित्र नेपालको विद्यालय शिक्षामा ठूलो दुर्घटना हुने दाबी गर्नुभयो। सरकारकै कारण यस्तो अवस्था आएको पनि उहाँले दाबी गर्नुभयो।

‘लेटर ग्रेडिङ भन्यो, सबै पास हुनुपर्छ भन्दै हिँड्यो अनि विद्यार्थी पढ्दै नपढेपछि यस्तो अवस्था आएको हो।’ –उहाँले भन्नुभयो। उहाँले गत वर्षको तुलनामा यो वर्षको नतिजा झन् खस्कँदै गएको दाबी गर्नुभयो।

सामाजिक अध्ययनमा ४२ हजार ६ सय ३३ जनाले ‘ई’, ६३ हजार ८ सय ३१ ले ‘डी’ र ९८ हजार ६ सय ९० जनाले ‘डी’ प्लस ल्याएका छन्। सामाजिक अध्ययनमा परीक्षा दिएका अधिकांश विद्यार्थीलाई कक्षा ११ पढ्न समस्या पर्नेछ। किनकि उनीहरूले ‘डी’ र ‘ई’मा अति कम नम्बर ल्याएका छन्।

‘ग्रेडिङ प्रणाली नराम्रो होइन, विद्यार्थीको पढ्ने बानी हराएकाले समस्या बढेको हो।’ –डा. वाग्लेको भनाइ छ। अर्का शिक्षाविद् डा. कोइराला पाठ्यक्रममा सुधार नभएको कारण गम्भीर समस्या सृजना भएको बताउनुहुन्छ।

स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षाको अवस्था पनि त्यस्तै छ। सो विषयमा १५ हजार ८७ जनाले ‘ई’ र २९ हजार ९ सय ३२ जनाले ‘डी’ ग्रेड ल्याएका छन्। अनिवार्य विषयमा अति कमजोर देखिएको यो पटकको परीक्षामा ‘ए’ प्लस ल्याउने विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ। तुलनात्मकरूपमा ऐच्छिक गणितमा केही प्रगति देखिएको छ।

ऐच्छिक गणितमा २६ हजार ६ सय १२ जनाले ‘ए’ प्लस ल्याएका छन्। ५६ वटा विषयमध्ये झण्डै दुई दर्जन विषयमा कसैले पनि ‘ए’ प्लस ल्याएका छैनन्। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सुधार हुने क्रममा रहेकाले नतिजा बिग्रिएको हो भन्न नमिल्ने बताउनुभयो।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले सरकारको कमजोर प्रणालीको कारण केही समस्या परेको जनाउँदै विगतको तुलनामा विद्यार्थीमा पढ्ने बानी हराएको बताउनुभयो।