राजमार्गको विजोग – मर्मतको रकम कार्यालयमा


नेपाल समाचारपत्र, रसुवा । पासाङल्हामु राजमार्गस्थित रसुवाखण्डको मर्मत तथा सुधारका लागि आएको वजेट यो वर्ष पनि कार्यालयमा नै थन्किएको छ ।

जिल्लाको वेत्रावतीदेखि रसुवागढीसम्म जिर्ण वनेको सडक सुधार (रिसिलिङ) का लागि आएको साढे तीन करोड रकम सडक डिभिजन कार्यालय नुवाकोटमा नै थन्किएको हो ।

 

कार्यालयका अनुसार यो वर्ष रसुवाको ठाडेदेखि स्याफ्रुवेशीसम्म विग्रिएको तथा खाल्डाखुल्डी परेको सडकलाई एक लेयर वनाउने काम गर्ने लक्ष्य राखिएपनि लक्ष्य पुरा हुन नसकेको हो ।

 

डिभिजन प्रमुख रोहित कुमार विशुरालले भन्नुभयो ‘ठाडेदेखि स्याफ्रुवेशीसम्म सडकमा परेको खाल्टाखुल्टी टालेर एक नासले गिट्टी छर्ने योजना रहेको थियो, रकम निकासामा ढिलाई भएपछि काम गर्न सकिएन् ।

 

रकम निकासामा भएको ढिलाई र टेन्डर प्रक्रिया समयमा नै हुन नसकेकाले रकम खर्च हुन नसकेको कार्यालयले जनाएको छ । गत वर्षपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट आएको साढे दुई करोड रकम खर्च हुन सकेको थिएन् ।

 

भूकम्पका कारण तातोपानी नाका वन्द भएपछि रसुवागढि नाका सञ्चालनमा आएसँगै क्षमताभन्दा बढी भार भएका गाडीको आवतजावत र लामो समयदेखि मर्मत नहुँदा राजमार्ग जीर्ण बनेको वन्दै गएको छ ।

 

सडक खाल्डाखुल्डी धेरै भएको कारण राजमार्गमा गुड्ने सवारीसाधनलाई समस्या भएको छ । सडकमा भएको खाल्डोले दुर्घटनाको जोखिम समेत बढेको सवारी चालकले वताएका छन् । कार्यालयले बर्खा सकिएपछि काम सुरु गर्ने जनाएको छ ।

पहिरोको त्रास
राजमार्ग स्थित रसुवाखण्डको आधा दर्जन स्थानमा पहिरो झरेको छ । कालिका गाउँपालिकाको राम्चे, गोसाइँकुण्ड गाउँपालिकाको मुलखर्क, खोप्पाङको भिर, सानो भार्खु, लिङलिङ, रसुवागढि लगायतको स्थानमा ठूलाठूला पहिरो झरेको छ ।

भूकम्प जानुभन्दा पहिले राम्चे र मुलखर्कमा पहिरोको सास्ती खेप्दै आएका नागारिक तथा यात्रु भूकम्पपछिका दिनमा पहिरोको सङ्ख्या बढेपछि वर्षाको समयमा हिडडुल गर्न समेत समस्या आएको छ । सडक डिभिजन कार्यालयले सडक मर्मत तथा सुधारको काम गरेपनि पहिरो नियन्त्रणका लागि कुनै पनि काम गर्न नसकेको जनाएको छ ।
असार १५ गतेबाट स्काइभेटर राख्ने
वर्षाको समयमा प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षाको समयमा सवारी साधन निर्वाध रुपमा आउतजावत गराउँनका लागि सडक डिभिजन कार्यालय जिम्मेवारीबाट पन्छिने गरेको छ ।
यो वर्ष पनि कार्यालयले राजमार्गमा नियमित सवारी साधन सञ्चालनका लागि असार १५ गतेबाट मात्र स्काइभेटर राख्ने जनाएको छ । जिल्लाको तल्लो क्षेत्रमा दुई वटा स्काइभेटर राख्ने र माथिल्लो क्षेत्रका लागि जलविद्युत आयोजनासँग समन्वय गर्ने डिभिजन प्रमुख विशुरालले वताउँनुभयो ।

 

कार्यालयका अनुसार यो वर्ष राम्चे, कालिकास्थान, ग्राङमा पासिङ जोन वनाउने, सडकलाई चौडा वनाउने काम सकिएको छ । भूकम्पका कारण चिरिएका तथा भासिएका सडकको मर्मत गरिएको छ । त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाको सोलेमा सडक ढलान गर्ने काम गरेको जनाएको छ ।