चीनको नर्सरी स्कुलबाहिर विस्फोट


 

बेइजिङ, (एजेन्सी)
चीनको एउटा नर्सरीमा बिहीबार भएको बम विस्फोटमा ७ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ६६ जना घाइते भएको सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ। पूर्वी जियाङ्सु प्रान्तको फेग्सिंयान काउन्टीस्थित किन्डरगार्टेन बाहिर उक्त विस्फोट भएको थियो।

मर्नेमध्ये बालबालिका कति जना छन् भन्ने स्पष्ट हुन सकेको छैन। विस्फोटको कारण पनि थाहा हुन सकेको छैन। अपराह्न अभिभावकहरुले आफ्ना बच्चाहरु लिन आइरहेका बेला विस्फोट गराइएको थियो। सामाजिक सञ्जालमा राखिएका उक्त घटनासम्बन्धी तस्वीरहरुमा वयस्क र बालबालिकाहरु रगताम्य हालतमा भुइँमा लडिरहेको देखिन्छन्।

भिडियो फुटेजमा घाइते मानिसहरु रोइरहेका बालबालिकाहरुलाई समाउँदै गरेको र एकजना महिला लुगा जलेको अवस्थामा पछिल्तर पछाडिएको देखिन्छन्। सिन्ह्वाका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना घाइतेको उपचारको क्रममा मृत्यु भएको हो। घाइतेमध्ये नौ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ।

प्रहरी यस सम्बन्धमा गम्भीर छानबिन अघि बढाइसकेको जनाएको छ। एकजना स्थानीय पसलेले स्थानीय समयअनुसार करिब पाँच बजे ठूलो आवाजसहित भएको सो विस्फोट नजिकैको रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्केको ठानेको बताएको चिनियाँ न्युज वेबसाइड सोहुले जनाएको छ।

केही साताभित्र चीनको किन्डरगार्टेनमा भएको यो दोस्रो दुखान्त घटना हो। गत महिना पूर्वी सान्डोंग प्रान्तको एउटा सुरुङ मार्गमा किन्डरगार्टेनका बालबालिका सावार एउटा बसमा आगलागी हुँदा ११ जना बालबालिकाको ज्यान गएको थियो। अनुसन्धानपछि उक्त बसका ड्राइभर स्वयंले बसमा आगो लगाएको रहस्य खुलेको थियो। सो घटनामा उनी पनि मारिएका थिए।