सत्तारूढ दलमै तीव्र असन्तुष्टि



 

मधुसूदन रायमाझी, काठमाडौं
निर्वाचन आयोगको असहमतिका बाबजुद प्रदेश नम्बर–२ को चुनाव आगामी असोज २ गते गर्ने सरकारको निर्णयप्रति सत्तारूढ दलबीच नै असन्तुष्टि उत्पन्न भएको छ। सत्तारूढ दल र राजपाबीच बिहीबार प्रदेश नम्बर–२ को चुनाव सार्ने सहमति भएको थियो। सोही सहमतिअनुसार सरकारले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राजपा निर्वाचनमा सहभागी हुने दाबी गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन गर्ने निर्णयले जनतामा आशंका जन्माएको छ, सरकारप्रति अविश्वास उब्जाएको छ।’

कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षले निर्वाचनको मिति सार्ने निर्णयप्रति पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि जनाएको छ। नेता पौडेलले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर अगाडि बढ्नु राम्रो भए पनि पटक–पटक निर्वाचनको मिति परिवर्तन गर्दा जनतामा राम्रो सन्देश नगएको बताउनुभयो। असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा राजपाले स्वतन्त्र रूपमा उम्मेदवारी दिने सहमतिअनुसार २ नम्बर प्रदेशमा मात्र असोज २ गतेका लागि निर्वाचनको मिति सारिएको बताइएको छ। यस्तै नेपाली कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारणा राख्नुभएको छ। तेस्रो चरणमा निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी नभएको भन्दै उहाँले एकै चरणमा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ।

संविधान संशोधनको ग्यारेन्टी गरेर असार १४ गते नै निर्वाचन हुनुपर्ने भन्दै कांग्रेस नेता कोइरालाले मधेसको समस्या समाधान गरेर मात्र स्थानीय निर्वाचनका लागि अघि बढ्न आफूले पहिले नै सल्लाह दिएको पनि बताउनुभएको छ। बिहीबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी र राजपाका शीर्ष नेताहरूको बैठकले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन ३ महिनापछि असोज २ गते गर्ने सहमति गरेलगत्तै डा. कोइरालाले नेपाल समाचारपत्रसँग कुरा गर्दै संविधान संशोधनको ग्यारेन्टी गरी असार १४ गते नै निर्वाचन गर्नुपर्ने धारणा राख्नुभएको हो।

आन्दोलनरत मधेसवादी दलहरूले मधेसको राष्ट्रियता र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहाडको राष्ट्रियता देखाउन खोजेकाले नै समस्या गाठो परेर बसेको कांग्रेस नेता कोइरालाको भनाइ थियो। ‘आगामी असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी के छ ?’, डा. कोइरालाले भन्नुभयो– ‘अब यसको असर धेरै ठूलो पर्छ। दलहरूवीच निर्वाचन सार्ने सहमति भए पनि राजपाले चुनावमा आउने निर्णय गरेको छैन।’

प्रदेश–२ मा तेस्रो चरणमा निर्वाचन गराउने निर्णयप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र पनि असन्तुष्टि देखिएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनको मिति सार्ने निर्णयप्रति बैठकमा नै आपत्ति जनाउनुभएको थियो।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले बारम्बार निर्वाचन सार्नु राम्रो नभए पनि सबैलाई समेट्ने गरी निर्वाचनको मिति परिवर्तन गर्नु स्वभाविक भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘राजपालाई पेलेर जान सकिने अवस्था छैन, दायाँ–बायाँ सम्झौता, सहमति गरेर फकाएर पनि निर्वाचनमा सहभागी गराएर देशलाई राजनीतिक स्थायित्व दिनुपर्छ।’

एमालेको आपत्ति

काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

‘पटक–पटकका वार्ताहरूमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दिँदै आएको थियो। शुरूमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चारवटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो। पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ’, एमालेद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा भनिएको छ– ‘प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफै छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ। यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्त्वहरूको मनोबल बढाएको छ। कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारूढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ।’

संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पुर्याउने यस कदमका विरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरू अघि बढाउन मातहत कमिटीहरूलाई निर्देशन दिँदै एमालेले पार्टी प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आम जनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरूलाई आह्वानसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्