धनगढीको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त


ट्राफिक प्रहरीलाई सडकभरी फिँजाएर काम लगाउन नसकिने ट्राफिक इन्चार्ज पातलीको भनाई  ।

हेमन्त पौडेल,कैलाली ।

दिनप्रतिदिन धनगढीको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बन्दैगएको छ । सुदूरपश्चिमको ब्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा साना तथा ठूला सवारी साधनहरुको संख्या उल्लेख्य रहेको छ । पछिल्लो समयमा ई–रिक्सा भित्रिएपछि ट्राफिकको चाप बढेको छ ।

ई–रिक्साका कारण बजारमा ओहोदोहोर गर्न केही सजिलो भएपनि उनीहरुको चलाउने तरिकाले भने अन्य सवारी साधनलाई बजारमा चलाउन कठिन हुने गरेको छ । सुदूरपश्चिमको केन्द्र धनगढीको यातायात ब्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले ब्यवस्थापनकालागि नयाँ सोच नल्याएका कारण धनगढीको ट्राफिक ब्यवस्थापन निकै विग्रदै गएको छ ।

यस अघिका जिल्ला इन्चार्ज खडक भण्डारीले अटो रिक्साको ब्यवस्थापन र ट्राफिक ब्यवस्थापनमा केही नयाँ काम शुरुवात गरेका थिए तर हाल ट्राफिकको जिल्ला इन्चार्ज भएर आएका दीपक पातलीले ब्यवस्थापनको नयाँ काम केही गर्न सकेका छैनन् । धनगढीको अस्तब्यस्त ट्राफिकलाई सुधार गर्न सक्ने इन्चार्जको खाँचो रहेको नगरवासीहरुको माग छ ।

इन्चार्ज पातलीले आफूले नयाँ काम गर्न नसकेको स्वीकार गरेकाछन् । धनगढीको ट्राफिक ब्यवस्थापनले यस क्षेत्रको विकासको संकेत गर्ने भएकाले यस्तो विषयमा सरोकारवाला निकाय किन गम्भीर नभएको हो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

सडकभरी सवारी साधनले भरिएको छ ट्राफिक प्रहरीको पनि ड्यूटी खटिएको छ तर ब्यवस्थापन गर्न नसक्नुको पछाडी के कारण हो भन्ने प्रश्न उठ्ने गरेको छ । बजारका विभिन्न भागमा नो पार्किंग क्षेत्र भन्दै वोर्डहरु राखिएकाछन तर सोही क्षेत्रमा गाडीहरु पार्किंग गरेर यात्रुहरु कुरिहरको अवस्थामा सवारीसाधनहरु भेटिन्छन् । अटोरिक्सामा बसेका मानिसहरुलाई गाडी स्टाफहरुले सताउने गरेपनि त्यसको नियन्त्रण हुन सकेको छैन ।

गाडी स्टाफले अटोमा मानिसहरु आएको देखेपछि अटो रोकेर आतंकित पार्ने काम गर्ने गरेकाछन् । अटो रोकेर गाडी स्टाफहरुले चारैतिरबाट घेरेपछि महिला तथा बालबालिकाहरु तर्सिने गरेकाछन् । स्थानीय प्रत्यक्ष दर्शीका अनुसार रातोपुल र साल्ट ट्रेडिंग क्षेत्रमा यस्तो काम हुने गरेको छ । सोही क्षेत्रमा ट्राफिक प्रहरीले गस्ती गरेको देखिन्छ ।

बसपार्कबाट गाडीहरु बाहिर निकालेर सडकमा पार्किंग गर्दा समेत ट्राफिक प्रहरी मुकदर्शक बन्ने गरेको छ । सवारी साधनले ट्राफिक नियम उलंघन गरेको भन्दै जरिवाना काट्ने काम पनि तिब्र गतिमा हुने गरेको छ । आज एउटा गल्तीमा जरिवाना काटेको गाडीले भोली फेरि सोही गल्ती दोहोर्याएर जरिबाना काट्ने काम भएको हुन्छ ।

रकम लिएर गल्ती गर्न छुट पाउने ब्यवस्थाको अन्त्य गर्दै जानेर गल्ती गर्नेलाई कडा कार्वाही गर्ने कानुन बनाउनुपर्ने सुझाव पनि स्थानीयको छ । राजस्व बढाउने नाममा गल्ती गर्ने छुट दिनु हुँदैन धनगढीका बिमल ओझाले भन्नुभयो ।

राजस्व उठाउन प्राथमिकता दिनु भन्दा पनि यातायात ब्यवस्थापनमा ध्यान दिन ट्राफिक प्रहरीलाई सुझाव दिएकाछन् । राजस्व उठाउने काम भन्सार र कर कार्यालयको हो ट्राफिकको होइन अर्का स्थानीय बासिन्दा नारायण खड्काले बताउनुभयो ।

ड्युटीमा खटिएका प्रहरीले पनि मोवाइल र फेसबुकमा ब्यस्त हुने गरेकाछन् ।

आजभोली म्यादी प्रहरी पनि संगै पठाएकाले संख्या धेरै देखिएपनि उपलब्धीको काम भने केही देखिएको छैन । विभिन्न स्थानमा रहेको ट्राफिक प्रहरीका गतिविधि संकास्पद हुने गरेकाछन् ।

जतिखेर भारतीय नम्वरका गाडीहरु देख्नेवित्तिकै कान ठाडा बनाएर हेर्ने कागजपत्र चेक गर्ने बाहानामा रकम असुली समेत हुने गरेको छ । अहिले पनि त्रिनगर नाकाबाट बैधानिकरुपम आएका भारतीय सवारी साधनलाई अनावश्यकरुपमा दुःख दिएर समस्यामा पार्ने गरेको गुनासो भारतीय नागरिकहरुले बारम्बार गुनासो गर्ने गरेकाछन् ।

धनगढी बजारमा ठूला साना सवारी साधनहरु गुड्ने गरेकाछन् । कतिपयले बजार क्षेत्रमा तिब्रगतिले सवारी साधन चलाउने गरेको दखिन्छ । कतिपय ट्रयाक्टरहरुले समेत तिब्रगतिमा कुदाउने र ओभरटेक गर्ने गरेको छ तर त्यसलाई नियन्त्रण गर्नेतर्फ ध्यान नदिएको गुनासो पनि छ । कतिपय सवारी चालकहरुले कानमा एयर फोन लगाएर आफ्ना सवारी साधन चलाएको भएपनि त्यस्तालाई रोकेर सम्झाउने काम समेत भएको छैन ।

यस बारेमा जनताको गुनासो रहेको जानकारी गराउँदा प्रहरी निरिक्षक दीपक पातलीले सडकभरी ट्राफिक फिँजाएर राख्न नसकिने रुखो जवाफ फर्काएका थिए । दिनभरी घाममा ट्राफिक प्रहरीलाई खटाउने नसकिने उनको भनाई थियो ।

पातली ट्राफिक ब्यवस्थापनकालागि भन्दै कार्यालय बाहिर निस्कीएकाछैनन् । प्रायः उनी कार्यालयमा बस्ने गरेकाछन । फिल्डमा प्रहरी नायब निरिक्षक प्रकाश चन्द खटिने गरेकाछन् ।

जिल्ला ट्राफिक कार्यालयमा दीपक पातली आएपछि नगरवासीले खासै नयाँ कुनै अनुभूति गर्न पाएकाछैनन् । यस अघिका जिल्ला इन्चार्ज खडक भण्डारी ट्राफिक ब्यवस्थापनकालागि आफै बजारमा निस्ने गरेका थिए तर पातली अएपछि उनको शक्रियता नदेखिएको नगरवासीको गुनासो छ ।

ट्राफिक ब्यवस्थापनकालागि फिल्डमा खटिनु भन्दा पनि बढी समय कार्यालयमा विताउने भएकाले बजारको अस्तब्यस्त अवस्था बारेमा पातली गम्भीर नभएको आरोप लागेको छ ।

यस बारेमा आफ्नो गम्भी ध्यानाकर्षण भएको सुदूरपश्चिमका डिआईजी रोमेन्द्र देउजाले बताउनुभयो । ट्राफिक प्रहरी भनेको कार्यालयमा बस्ने होइन उनीहरुले फिल्डलाई प्राथमिकता दिनुपर्छ डिआइजी देउजाले भन्नुभयो ।

उत क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एसपी रमेश थापाले यसबारेमा जिल्लाको बैठकमा कुरा उठाउने र यसलाई सुधार गर्दै लैजाने बताउनुभयो ।