लन्डनको ग्रेनफेल टावरमा भीषण आगलागी


 

लन्डन, (एजेन्सी)
बेलायतको एउटा वेस्ट लन्डन टावर ब्लकमा मंगलबार राति भयानक आगो लाग्दा कम्तीमा छ जना व्यक्तिको ज्यान गएको र मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बुधबार जनाएको छ। २४ तल्ले उक्त ग्रेनफेल टावरमा भएको यस दुर्घटनामा अन्य २० जना गम्भीर घाइते भएका छन्।

माथिल्लो तीन तल्लामा बस्ने कोही पनि जीवित नरहेको सुरक्षा सूत्रले दाबी गरेको छ। प्रत्यक्षदर्शीहरूले नर्थ केन्सिंग्टनस्थित सो टावरमा फसेका व्यक्तिहरू आफ्ना बालबालिकालाई बचाइदिन चिच्याइरहेको बताएका छन्। २ सय ५० जनाभन्दा बढी अग्नि नियन्त्रकहरूले १२ घण्टादेखि आगो निभाउने प्रयास गर्नुका साथै थुप्रै व्यक्तिको उद्धार गरेका छन्।

घटनास्थलमा १ सयवटा एम्बुलेन्स परिचालन गरिएका छन्। प्रहरीले अझै पनि भवनभित्र मानिसहरू हुनुपर्ने तर तिनीहरूको यकिन संख्या थाहा हुन नसकेको बताएको छ। मध्यरातको केही समयपछि आगलागी शुरू भएकाले त्यहँँ अधिकांश सुतिरहेका सयौं व्यक्ति हुनुपर्ने आशंका गरिएको छ।

प्रहरीले आगलागीको कारण अझै थाहा हुन नसकेको र पीडितहरूको पहिचान हुन पनि समय लाग्ने बताएको छ। ७० जनाभन्दा बढी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। डाउनिङ स्ट्रिटले प्रधानमन्त्री थेरेसा मेले आफू यस घटनामा भएको जनधनको क्षतिप्रति निकै दुखित रहेको बताएको जनाएको छ।

लन्क्यास्टर वेस्ट इस्टेटको एक भागको रूपमा रहेको तथा सन् १९७४ मा निर्माण गरिएको ग्रेनफेल टावरमा झन्डै १ हजार परिवार बसोबास गर्दै आएको बताइएको छ। लन्डन फायर ब्रिगेडका अनुसार एकजना स्ट्रक्चरल इन्जिनियरले भवनलाई जाँच गरी ढल्ने खतरा नरहेकाले उद्धार टोलीभित्र छिर्न सक्ने बताएका छन्।