दक्षिणी काश्मिरमा शृंखलाबद्ध आक्रमण


 

श्रीनगर, (एजेन्सी)
भारत प्रशासित काश्मिरको दक्षिणी भागको विभिन्न इलाकामा मंगलबार साँझ कट्टरपन्थीहरूबाट शृंखलाबद्ध हमला भएको छ। पहिलो आक्रमण दक्षिणी काश्मिरको त्रालमा सीआरपीएफको शिविरमा भएको हो। उक्त आक्रमणमा सीआरपीएफका १० जना सैनिक जवान घाइते भएका छन्। उक्त आक्रमणमा हातेबम प्रहार गरिएको थियो। पुलवामा जिल्लाको पतगामपुरामा पनि सीआरपीएफको एक क्याम्पमा हातेबम प्रहार गरिएको थियो। तर यस आक्रमणमा कोही पनि हताहत भएको समाचार आएको छैन।

सोपारको पाजालपुरामा पनि सेनाको एउटा क्याम्पमा गोलाबारी भएको जम्मु काश्मिरका आईजी मुनिर खानले जानकारी दिएका छन्। उक्त हमलामा सेनाका कुनै पनि जवान घाइते भएको समाचार आएको छैन। त्यसै गरी काश्मिरको अनन्तनागको अन्चिडोरामा जम्मु काश्मिर उच्च अदालतका अवकास प्राप्त न्यायाधीश मुजफ्फर अतारका आवासमाथि पनि हमला भएको र संदिग्ध कट्टरपन्थीहरूले प्रहरीबाट चारवटा हतियार खोसेको अधिकारीहरूले बताएका छन्।

दक्षिण काश्मिरको पुलवामा प्रहरी स्टेसनमा पनि अर्को आक्रमण भएको प्रहरीले जानकारी दिएको छ। उक्त आक्रमणमा पनि कोही घाइते नभएको जनाइएको छ। शृंखलाबद्ध आक्रमणपछि काश्मिर घाँटीमा विशेष गरी दक्षिणी काश्मिरका इलाकामा सुरक्षा अलर्ट बढाइएको प्रहरी प्रमुखले बताए।
राति पनि त्रालस्थित सेनाको क्याम्पमा ह्यान्डग्रिनेड प्रहार भएको र त्यसमा दुई सैनिक जवान घाइते भएको जनाइएको छ।