प्रदर्शनीमा प्रिन्ट कला

0
Shares

काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट एन्ड डिजाइनमा अध्ययनरत कलाका दुई दर्जन विद्यार्थीले तयार पारेका प्रिन्टको प्रदर्शनी पार्क ग्यालरी पुल्चोकमा शुरु भएको छ। अग्रज कलाकारदय उमाशंकर साह र डा. सीमा शर्मा साहले संयुक्तरूपमा शुभारम्भ गरेको प्रदर्शनीमा उडकटमा तयार पारिएका कलाकृति राखिएका छन्।

‘प्रिन्ट मेकिङको क्रेज बढ्नु नेपाली कला क्षेत्रका लागि सुखद संकेत हो। हामी सबैको प्रयासले नेपालमा यस विधाप्रति युवापुस्ताको रुचि बढ्दै गइरहेको छ। विद्यार्थीले पनि निकै राम्रा प्रिन्ट बनाएको पाएँ’ –उमाशंकर साहको भनाइ थियो। डा. सीमा शर्मा शर्माको भनाइमा नेपालमा प्रिन्टमेकिङ व्यवस्थितरूपमा अगाडि बढिरहेको छ। कार्यक्रममा युवा कलाकार तथा विश्वविद्यालयका लेक्चरर कविराज लामाले सही ढंगले प्रिन्ट विषयलाई अध्यापन गराउन सकिए यसमा नयाँ पुस्ताका कलाकारको रुचि अझै बढ्ने बताए। प्रिन्टमा फरक किसिमका विषयमा काम गर्दा रमाइलो र बेग्लै अनुभव भएको प्रदर्शनीमा सहभागी जगदीश मोक्तानले बताए। प्रदर्शनीले नयाँ पुस्ताका कलाकारमा प्रोत्साहनको काम गरेको अर्का सहभागी रूपेशमान सिंहले बताए। काठमाडौंको धूलो र धुँवालाई निकै कलात्मकरूपमा चित्रण गर्दै वातावरण विनाशले मानवीय जीवनलाई संकटतिर धकेलिरहेको टासी लामाले बनाए।

प्रदर्शनीमा मनन्तुना ज्यापु, रूपेशमान सिंह, टासी लामा, जगदीश मोक्तान, एलेन तुलाधर, अमिर महत, अमोघ पराजुली, एन्जिला मानन्धर, दिवस महर्जन, हिरोतो श्रेष्ठ, हितेश वैद्य, जोनसन लिम्बु, काजल आङदेम्बे, केमेश महर्जन, मनिका मानन्धर, निकेश योञ्जन, पूजा दुवाल, रिया ढुंगेल, सविना प्रजापति, शुभ जोशी, सुदिमराज वज्रचार्य, सुमन राई र यशश्वी श्रेष्ठ सहभागी रहेका छन्। प्रदर्शनी आगामी शुक्रबारसम्म चल्नेछ।