अत्यावश्यक औषधिको अभाव


 

विमल विष्ट, डोटी
जिल्ला स्वास्थ्य कार्यालय डोटीमा लामो समयदेखि अत्यावश्यक औषधिहरूको अभाव देखिएको छ। लामो समयदेखि अस्पताल डोटीमा औषधि नहुँदा जिल्ला अस्पताल डोटी प्रायः सुनसान हुने गरेको छ। केन्द्र अर्थात् औषधि विभागबाट नै पर्याप्त मात्रामा औषधि नपठाएकाले डोटीमा औषधि अभाव देखिएको हो। अहिले जिल्ला अस्पतालदेखि गाउँका स्वास्थ्यचौकीहरूमा औषधि नहुँदा बिरामीहरू मर्कामा परेका छन्। स्वाथ्यकर्मीका अनुसार ग्यास्ट्रिक, पखाला, खुजुली र प्रसूतिपश्चात् लगाइने सुईजस्ता औषधिहरू विगत एक वर्षदेखि जिल्ला स्वास्थ्यमा छैन। त्यस्तै गएको तीन महिनादेखि आइरन, आईभीपी खोप र सिटामोल पनि अभाव भइरहेको बताइएको छ। क्षयरोगीलाई अनिवार्य खुवाउनुपर्ने औषधि तथा रुघाखोकीलगायतका औषधिहरूपनि पर्याप्त मात्रामा नरहेको जिल्ला जनस्वास्थ्य प्रमुख सतीश विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीसँग कुनै पनि औषधि नभएको त हैन, तर केही आवश्यक औषधिहरू अभाव भएको छ, केन्द्रबाट नै पर्याप्त औषधि नआएकाले जेनतेन गरी समस्या सुल्झाउन बाध्य भएका छौं।’ गर्भवती महिलाले खानुपर्ने अति आवश्यक औषधि आइरन चक्कीसमेत जिल्ला अस्पताल डोटीमा पर्याप्त मात्रामा छैन। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वर्षभरिमा १२ लाखको आइरन चक्की चाहिनेमा विभागले जम्मा २ लाखको मात्र पठाइएकाले आइरन चक्कीको चरम अभाव देखिएको हो। केन्द्रबाट नै औषधि नआएको भन्दै सुदूरपश्चिम क्षेत्रीय मेडिकल स्टोर धनगढीले पनि ७ महिनादेखि यहाँका अस्पतालहरूमा औषधि पठाएको छैन।

जिल्ला अस्पतालमा औषधि अभाव भएकाले यहाँका सामान्य रोगका बिरामीहरू पनि महँगो रकम खर्च गरेर जिल्लाबाहिर उपचारका लागि जान बाध्य भएको स्थानियबासी सुदिव बोहराले बताउनुभयो।

त्यस्तै जिल्ला अस्पतालमा औषधि नहुँदा चेकजाँचका लागि बिरामी पनि कमै मात्रामा आउने गरेका छन्। कहिले डाक्टर नहुनु तथा कहिने औषधि नहुनु यहाँको अस्पतालको नियति नै भए पनि पछिल्लो समय सतीश विष्ट जनस्वास्थ्य प्रमुख भएर आएपछि एकजना एमडीजीवी डाक्टर तथा अर्का एमबीबीएस डाक्टर जिल्ला अस्पतालमा चौबीसै घण्टा खटिने गरे पनि औषधि नहुँदा बिरामीहरू उपचार गर्न नआउने गरेको बताइएको छ। यहाँको जिल्ला अस्पतालभन्दा पनि निजी अस्पताल तथा मेडिकलहरूमा अहिले बिरामीको बढी घुइँचो लाग्ने गरेको स्थानीयबासीहरू बताउँछन्।