भेरी नदी धमिलो हुन थालेपछि स्थानीयबासी चिन्तित

0
Shares

 

सरिता चलाउने, सल्यान
बनगाड कुपिन्डे नगरपालिका–१ नाम्रा, घाटगाउ र बुरेली गाउँमा बसोबास गर्ने मानिसहरू भेरी नदीको पानी वर्षात्मा धमिलो हुने भएपछि चिन्तित हुन थालेका छन्।

वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका १ सय २५ घरपरिवार रहेका नाम्रा, घाट्गाउँ र बुरेली गाउँका बासिन्दाले भेरी नदीमा बगेर आएको पानी पिउनका लागि प्रयोग गरिरहेका छन्।
वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयबासी वीरबल पोख्रेलले जानकारी दिनुभयो। नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको पोख्रेलले भनाइ छ। धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रुपमा प्रयोग गर्दै आएको स्थानीयबासी गोपीलाल शर्माले जानकारी दिनुभयो।

‘गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने?’ –शर्माले भन्नुभयो।नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ। खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयबासी शर्माको भनाइ छ।

‘खानेपानीको समस्या लिएर जिल्ला र केन्द्रसम्म सबै सरोकारवाला निकायमा पुगिसक्यौं तर कतैबाट समस्या हल भएन।’ –शर्माले भन्नुभयो। गाउँदेखि टाढा तीन, चार घण्टा हिँडेपछि पानीको मुहान भेटिए पनि अप्ठइरो बाटो हुँदा पानी ल्याउन गाह्रो हुने गरेको उहाँको भनाइ छ। साथै वर्षौं भेरी नदीको पानी ल्याउन जाँदा वर्षात्को समयमा कयौंपटक मानिसहरू बगेर ज्यान जाने गरेको छ।