८४ वटा आपराधिक घटना सार्वजनिक


 

नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुर जिल्लामा विगत ६ महिनामा ८४ वटा आपराधिक घट्ना घटेका छन्। अनौपचारिक क्षेत्रीय सेवा केन्द्र (इन्सेक) भक्तपुरले घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको छ।

इन्सेक भक्तपुर प्रतिनिधी सविना केसीले घट्नाको सार्वजनिक गर्दै भक्तपुर जिल्लामा २०१७ जनवरीदेखि १३ जुनसम्म हत्या, कुटपिट, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र मानव बेचबिखनलगायतका घटना जिल्लामा भएको बताउनुभयो।

जसमा गैरराज्य पक्षबाट ५ जनाको हत्या भएको, ४ जनालाई बलात्कार गरिएको, अरु ४ जनामाथि बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटना भएको, दुई जनाले बहुविवाह गरेको, दुई जना मानव बेचबिखन गरिएको र ६३ जना महिला घरेलु हिंसाबाट पीडित भई प्रहरीसम्म आएको बताउनुभयो।

कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले मानव अधिकार हननका घट्नामा अपेक्षित रूपमा कम हुन नसके पनि विगतका भन्दा कम भएको बताउनुभयो। उहाँले गत साउनदेखि हालसम्म भक्तपुरमा ४४७ वटा मुद्दा दर्ता भएकोमा गुण्डागर्दीका मुद्दामा मात्रै १३९ वटा दर्ता भएको गतवर्ष भन्दा यसवर्ष १७१ वटा यस्ता मुद्दामा वृद्धि भएको बताउनुभयो। भक्तपुरमा सवारी ज्यान एकदमै बढेको बताउँदै उहाँले यो वर्ष ३४ जनाको सवारी दुर्घटनामा ज्यान गएको, ४४ जनाले आत्म हत्या गरेको बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, सूचना अधिकार समाजका अध्यक्ष सोम शर्मा (बजगाईं) लगायतले मानव अधिकार हनन्का घट्ना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक जुना बस्नेत सूर्यविनायक नगरपालिकाका उपप्रमुख पदमा निर्वाचित भएकाले उहाँलाई बिदाई गरी सञ्जालको संयोजकमा सर्वसम्मत रुपमा रोशनराज अर्याललाई र सदस्यमा पत्रकार पेशल आचार्यलाई चयन गरिएको छ।