निर्वाचनको विकल्प छैनः गृहमन्त्री


 

काठमाडौं, (नेस)
गृहमन्त्री जनार्दन शर्माले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ।

गृह मन्त्रालयमा बुधबार मन्त्री शर्माले आयोजना गर्नुभएको सुरक्षा हेर्ने सञ्चारकर्मीसँग छलफल गर्दै मुलुक निर्वाचनमय भइसकेकाले निर्वाचन हुँदैन कि भन्ने दुविधामा नपर्न आग्रह गर्नुभएको छ।

उहाँले गृह प्रशासनलाई चुस्त दुरुस्त राख्न के–के सुधार गर्नुपर्छ भन्ने बारेमा सुझाव लिन आयोजना गर्नुभएको छलफलमा उहाँले निर्वाचन बहिष्कार गर्ने धम्की दिएका मधेसवादी दलसँग बार्ता भइरहेको उहाँहरू पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

उहाँले शान्तिपूर्ण रुपमा जनताको मतदान गर्ने अधिकारलाई कसैले पनि रोक्न नसक्ने र निर्वाचन सफल बनाउन राज्यले अपनाउनुपर्ने सबै रणनीति अपनाइ सकेको दाबी गर्नुभयो।

मन्त्री शर्माले लामो समयदेखि सुरक्षा क्षेत्रमा कार्यरत सञ्चारकर्मीबाट प्राप्त सुझावलाई आफ्नो कार्यकालमा कम्तीमा ७५ प्रतिशत लागू गरेर छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

उहाँले सुरक्षा निकायलाई हस्तक्षेपमुक्त गर्न आफूले राजनीतिक हस्तक्षेप होइन सुरक्षा निकायमा राजनीतिक नेतृत्व मात्रै गर्ने जानकारी दिनुभयो। सुरक्षा निकायमा रहेको गुटबन्दीको अन्त्यका लागि आफूले काम गर्न खोज्दा पनि अहिले केही प्रहरीका उच्च अधिकारीहरू सोर्सफोर्स लगाउन गएकाले आफूहरूले त्यस्ता अधिकृतको हिसाब किताबसमेत राखेको बताउनुभयो।

प्रहरी सेवा आयोग गठन गर्न आफूले पहल गर्ने र प्रहरी संगठनमा जवानको मनोबल उच्च बनाउँदै अगाडि बढ्नका लागि आफूले केही कार्ययोजना बनाएको र त्यो कार्यान्वयन गरेर छाड्ने दाबी मन्त्री शर्माले गर्नुभयो।

उहाँले बिगतमा के भए त्यसतर्फ आफ्नो कुनै चासो नरहेको तर आफू जति समय मन्त्रालयमा बस्छु विवादास्पद कुनै काम नगर्नेसमेत बताउनुभयो।

उहाँले बुधबार नै पूर्वगृह सचिव र पूर्वप्रहरी महानिरीक्षकहरूसँगसमेत शान्ति सुरक्षा कायम राख्न के–के गर्न सकिन्छ भन्ने सुझाव दिनुभएको थियो।