अब थाहा हुन्छ आयु



 

टीका बन्धन, काठमाडौं
भवन, पुल, सडक र अन्य कुनै भौतिक संरचना निर्माणपछिको गुणस्तर र मापदण्ड पहिचान गर्दै अल्पकालीन र दीर्घकालीन आयुसमेत तोक्न मिल्ने प्रविधि नेपालमा शुरू हुँदै छ।

भौतिक संरचना निर्माणका क्रममा कस्तो सामग्री प्रयोग भएको छ, त्यसको भारवहन क्षमता कति हो र कुन गुणस्तरको सामग्रीको प्रयोग भएको भन्ने वास्तविकता ‘नन डिस्ट्रक्टिभ टेस्टिङ’ (एनडीटी) परीक्षणबाट पत्ता लाग्नेछ। विकिरण (न्युक्लियर) प्रविधि र विकिरण पदार्थ प्रयोग भएका उपकरणको सहयोगमा भवन र निर्माण भएका अन्य पूर्वाधार नकोटइई र नभत्काई गरिने परीक्षण विधि नै एनडीटी हो।

व्यक्तिको शरीर एक्सरे गरेर रोग पहिचान गर्न सघाउ पुर्याएझैं एनडीटीले पूर्वाधारमा प्रयोग हुने सामग्री, गुणस्तर र दिगोपन यकिन गर्न सघाउ पुर्याउने विज्ञहरू बताउँछन्।

भूकम्पले क्षति पुर्याएका भवन र अन्य संरचना प्रबलीकरण (रेक्ट्रोफिट) गर्न योग्य हो वा होइन भन्ने वास्तविकता थाहा पाउन यो विधि निकै प्रभावकारी हुने विज्ञहरूको तर्क छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा पहिलोपटक यस्तो प्रविधि शुरू गर्न लागिएको हो। विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा अस्ट्रियाको भियानामा मुख्यालय रहेको आईएईएले करिब साढे ९ करोड रुपियाँका उपकरण सहयोगसहित आवश्यक जनशक्ति तयार गर्न तालिम शुरू गरिसकेको छ।

सो निकायले सन् २०१८ सम्मका लागि प्राविधिक सहयोगसँगै यसका लागि आवश्यक पर्ने उपकरण र प्राविधिक टोली तयार गर्न शुरू गरेको सो मन्त्रालयका प्रवक्ता एवं सह–सचिव रामआधार साहले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माण विभागका प्राविधिकहरूले त्यस्तो कार्यको अनुगमन गर्नेछन्।
आईएईएले विभागका सिभिल, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरहरूको टोलीलाई तालिम दिन शुरू गरिसकेको छ।

गत वर्षको विभागका १७ जना प्राविधिकहरूले नेपालमा आधारभूत तालिम लिएका छन् भने त्यहीं टोलीबाट छानिएका ५ जनाले श्रीलंकाबाट ३ महिनाको ‘एडभान्स कोर्स’ पूरा गरिसकेका छन्।
फलाम र अन्य धातुबाट बनेका संरचनाको अनुगमनका लागि विभागको टोली तयार भइसकेको विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले बताउनुभयो।

‘अब अन्य विषयका प्राविधिक तयार हुने क्रममा छन्, त्यसका लागि आईएईएले सहयोग गर्ने छ’ –उहाँले भन्नुभयो। सो निकायको टोलीले गत वर्ष बबरमहलको कर कार्यालय, मालपोत कार्यालय डिल्लीबजार, थापाथली, कुपण्डोल पुललगायत ५ विभिन्न संरचनाको भूकम्पीय जोखिम पहिचान गरेको थियो।

त्यही टोलीले गरेको अध्ययनका आधारमा बबरमहल कर कार्यालय भवनको रेक्ट्रोफिट कार्य अघि बढेको थियो। आईएईएले एनडीटीका लागि आवश्यक उपकरण २ चरणमा नेपाल पठाइसकेको छ।

तर, अब नेपाल ल्याउने तयारीमा रहेका थप उपकरण भने कानुनी जटिलताले भित्त्याउन कठिनाइ भएको विज्ञान मन्त्रालयका अधिकारीहरू बताउँछन्। अब ल्याउनुपर्ने एनडीटी परीक्षण उपकरणमा धेरथोर विकिरणको (रेडियोधर्मी पदार्थ) मात्रा रहने भएकाले त्यस्तो उपकरण ओसारपसार र प्रयोगका लागि नेपालमा कानुन तयार नभएको मन्त्रालयका एक अधिकारीले प्रस्ट्याए।

सन् २००८ को जुलाईमा आईएईएको सदस्यता लिएपछि नेपालले कानुन बनाउनुपर्ने तत्परता अघि बढाएपनि त्यसबारेको कानुन अझै टुङ्गोमा पुग्न सकेको छैन।

नेपालले डेढ वर्षअघि रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसारबारे निर्देशिका मात्रै जारी गरेको छ। निर्देशिकालाई कानुनी हैसियतको मान्यता नदिएको आईएईएले कानुन अपरिहार्य रहेकोमा नेपाललाई दबाब दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्