एनसेलका दुई परियोजना एसिया मोबाइल अवार्डसको अन्तिम सूचीमा



नेपाल समाचारपत्र
काठमाडौं
एनसेलले ग्रामीण क्षेत्रमा विद्युत्, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसर सिर्जना गर्ने उद्देश्य लिई सञ्चालन गरेका दुई परियोजना जीएसएम एसोसियसन (जिएसएमए) को प्रतिष्ठित एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनोट भएका छन्।

जीएसएमए विश्वभरका जीएसएम मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन हो। एसिया मोबाइल अवार्डस्मा एसियाली महादेशका सेवाप्रदायकले सञ्चालन गरेका नवीन प्रविधि तथा उदाहरणीय सामाजिक परियोजना मध्येबाट उत्कृष्ट ठहर भएका प्रयासहरूलाई सम्मान गरिन्छ।

हालै मात्र जीएसएमएले एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनोट भएका प्रयास तथा तिनका सञ्चालक कम्पनीको नाम सार्वजनिक गरेको छ, जसका अनुसार एनसेलका २ वटा प्रोजेक्टहरू जीएसएमएको ‘सामाजिक तथा आर्थिक विकास’ विधाअन्र्तगतका दुई फरक अवार्डका लागि अन्तिम सूचीमा परेका छन्। असार १४ गते चीनको संघाईमा हुन गइरहेको एसियन मोबाइल अवार्डस् २०१७ को विशेष कार्य क्रममा विजेता घोषणा गरी अवार्ड प्रदान गरिने जीएसएमएले जनाएको छ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेका खोटाङ र उदयपुर जिल्लाका ग्रामीण समुदायमा सौर्य लघु ग्रिडलाई प्रवद्र्धन गर्दै स्थानीयबासीलाई ऊर्जा र मोबाइल सेवा सुनिश्चित गर्न एनसेलले घाम पावर नेपाल प्रालिसँग मिलेर गरेको प्रयास जीएसएमएको ‘बेस्ट मोबाइल इनोभेसन फर इमर्जिङ मार्केट्स’ अवार्डका लागि मनोनित भएको छ। यो प्रयासअन्तर्गत, एनसेलले घाम पावर नेपालसँगको सहकार्यमा ३ वटा सौर्य लघु ग्रिडहरूको आर्थिक संभाव्यता सुनिश्चित गर्दै उत्पादित सौर्य ऊर्जामा समुदायको पहँचलाई संयुक्तरुपमा प्रवद्र्धन गरिरहेको छ, जसले उक्त समुदायमा नयाँ आर्थिक तथा सामाजिक लाभका अवसरहरूको सिर्जना गर्न मद्दत पुर्याएको छ।

यसैगरी एनसेलले आफ्नो व्यावसायिक सामाजिकदायित्वअन्तर्गत सञ्चालन गरेको वाटर फर एग्रिकल्चर लाइभलिहुड परियोजना ‘आउटस्ट्यान्डिङ मोबाइल कन्ट्रिब्युसन टु युएन एसडिजिज् इन एसिया’ अवार्डका लागि अन्तिम सूचीमा परेकोछ। यस सामाजिक पहलमा एनसेलले स्याङ्जा जिल्लाका इलादी, दिप्का र ठूलादी गाउँमा स्वच्छ प्रविधिमार्फत खानेपानी तथा सिँचाइको सुविधामा पहुँच पुर्याई कृषि उत्पादकत्व बढाउन तथा व्यावसायिक खेतीमार्फत् आयआर्जन गर्न, सरसफाई तथा पोषणमा सुधार ल्याउन योगदान पुर्याएको छ। परियोजनामा प्रयोग भएको स्मार्ट मिटरले समुदायलाई घरेलु तथा सिँचाइका लागि पानीको व्यवस्थापन गर्न मद्दत पुर्याएको छ।

एसियन मोबाइल अवार्डस्का लागि ५ वटा विधाअन्तर्गत १२ वटा अवार्डका लागि ११५ मनोनयनमा परेका छन्। पाँच विधाअन्र्तगत ‘बेस्ट मोबाइल एप्स’, ‘बेस्ट मोबाइल डिभाइस’, ‘बेस्ट टेक्नोलोजीइनोभेसन’ र ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट’ पुरानै विधा हो भने ‘सामाजिक तथा आर्थिक विकास’ नयाँ विधा हो। एसिया मोबाइल अवार्डस्का लागि विश्वका ५० भन्दा बढी स्वतन्त्र विज्ञ, विश्लेषक, पत्रकार, शिक्षक तथा कुनै विशेष परिस्थितिमा आवश्यक भए मोबाइल कम्पनीका प्रतिनिधिसमेत संलग्न रहेको निर्णायक मण्डलले मनोनयनमा परेका पहलहरूलाई मूल्यांकन गरी विजेता घोषणा गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्