खाडी राजनीतिक संकट, नाकाबन्दी खुकुलो हुनुपर्छः टिलरसन


वासिङटन, (एजेन्सी)
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी देशहरूलाई कतारविरुद्धको नाकाबन्दी खुकुलो हुनुपर्ने सुझाव दिएका छन्।

साउदी अरेबियाको नेतृत्वमा ६ खाडी देशले सोमबार कतारमाथि यात्रा प्रतिबन्ध लगाउँदै कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए। ती देशहरूले कतारमाथि कट्टपन्थ समूहलाई आर्थिक मद्दत दिइरहेको आरोप लगाएका थिए।

साउदी अरेबिया र उसका सहयोगीहरूले कतारको संरक्षणमा रहेका ४९ जनाको सूची जारी गरेको छ। सूचीमा मुस्लिम ब्रदरहुडका धार्मिक नेता युसुफ अल कारादावीको नाम पनि समावेश गरिएको छ। कतारले सूचीमा समावेश गरिएकाहरूमाथि लगाइएको आरोप निराधार भएको प्रतिक्रिया दिएको छ।
साउदी अरेबियाले कतारलाई प्यालेस्टिनीको इस्लामिक समूह हमाससँग सम्बन्ध तोड्न पनि भनेको छ।

विदेशमन्त्री टिलरसनले नाकाबन्दीबाट नागरिकहरूलाई समस्या भइरहेको बताएका छन्। टिलरसनले कतारका अमिरले दिइरहेको कट्टरपन्थीहरूलाई आर्थिक मद्दतमाथि अंकुश लगाउने कार्यको प्रशंसा गरेको तर यस विषयमा अरू पनि धेरै उपायको गुञ्जायश रहेको बताए।

कतारले इस्लामिक समूहलाई मद्दत गरिरहेको आरोपलाई अस्वीकार गरेको छ।
टिलरसनले नाकाबन्दीका कारण आम नागरिकलाई समस्या भइरहेको र खाने, पिउने सामग्रीको अभाव भइरहेको बताए। परिवार अलग्गिनुपर्ने र बच्चालाई स्कुलमा छोड्नुपर्ने बाध्यता आइरहेको उनले थपे।

हाल देखिएको विवादले आतंकवादविरुद्ध लड्न क्षेत्रीय सहयोगमा असर पर्ने उनले बताए। कतारमा अमेरिकाको करिब १० हजार सैनिक बस्ने ठूलो सैन्य अखडा रहेको छ।

कतारले आफ्नो मानव अधिकार परिषद्को माध्यमबाट तर्क राख्दै आइरहेको छ। साउदी अरेबिया बहराइन र संयुक्त अरब इमिरेट्सले ती सबैको मानव अधिकार हनन गरेको छ जसले उडान प्रतिबन्धका कारण समस्या झेल्नुपरेका छन्।
खाडी सहयोगी परिषद्का देशहरूमा कहिल्यै पनि यस प्रकारको सीमा बन्द हुने स्थिति नभएको कतारले जनाएको छ।