बाल यौन दुराचारको जालो

0
Shares

सुरेश तामाङ, काठमाडौं
बाल–यौन दुराचारीका रुपमा अन्तर्राष्ट्रियस्तरमै आरोपित अमेरिकी नागरिक ४८ वर्षीय कोनिक जोसेफलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०७३ भदौ २६ गते ठमेलबाट पक्राउ गर्यो। जोसेफले बालकहरूलाई यौन दुराचार गरेको र नेपाली नागरिक बुद्ध पुतलर चुच्चे भन्नेले बालकहरू सम्पर्क गरी मिलाइदिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको सीआईबीले जनायो। उनले भाडामा लिएको घरबाट सीआईबीले १२ देखि १६ वर्ष उमेरका ७ बालकलाई समेत उद्धार गर्यो।

उनीहरूलाई मानव बेचबिखन तथा ओसार–पसार र बाल यौन दुराचार मुद्दाअन्तर्गत कारबाही भइरहेको छ। यसमा गिरोह नै संलग्न रहेको र यसका अन्य सदस्य फरार रहेको जनाइएको छ। ९० दिनको पर्यटक भिसामा भदौ ७ मा नेपाल आएका जोसेफ अमेरिकामा समेत दशौं पटकभन्दा बढी बाल–यौन दुराचार गरेको आरोपमा कारबाहीमा परेका थिए। जोसेफ यो भन्दाअघि पनि धेरैपल्ट सहयोग गर्ने भन्दै नेपाल आउजाउ गर्थे। प्रहरीका अनुसार उनी पश्चिम नेपालमा घुमफिर गरेर बालकहरूलाई सहयोग गर्ने भन्दै काठमाडौं ल्याउने गर्थे।

त्यस्तै, क्यानडेली नागरिक अर्नेस स्याम्विक म्याकेन्टस २०७१ मंसिरमा बाल–यौन दुराचार गरेको अभियोगमा पक्राउ परे। उनी पनि बाल–यौन दुराचारीका रुपमा अन्तर्राष्ट्रियस्तरमै आरोपमा पर्दै आएका व्यक्ति हुन्। उनी बाल–यौन दुराचारको मामिलामा चार दशकदेखि संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले अपांगता भएका १५ वर्षीय बालकलाई कृत्रिम हात बनाइदिने, विदेश लगिदिने, पैसा दिलाइदिनेलगायतका प्रलोभनमा पारेर तीन पटकसम्म यौन दुराचार गरेको प्रहरीले जनाएको छ।

म्याकेन्टस्लाई ललितपुर जिल्ला अदालतले बालकलाई जबरजस्ती करणी गरेको ठहर गर्दै २०७१ पुस ४ गते सजायको फैसला सुनायो। जिल्ला अदालत ललितपुरका तत्कालीन न्यायाधीश टेकनारायण कुँवरको बन्द इजलासले ४८ दिन लामो बहस–पैरवीपछि ४४ पेज लामो फैसला गर्दै सजाय सुनाएको थियो।

सो फैसला अहिले पनि बाल–यौन दुराचारका घटनाको नजिर मानिन्छ। उनलाई अदालतले ७ वर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्तिदिने निर्णय गर्यो।

क्यानडाको सैनिक सेवाबाट अवकास प्राप्त म्याकेन्टस अफ्रिकी मुलुकका अलाबा भारत र श्रीलंकामा पनि पटक–पटक बालकमाथि अप्राकृतिक मैथुन गरेकोमा पक्राउ पर्दै छुट्दै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीविरुद्ध आफ्नै देशमा मात्रै अप्राकृतिक मैथुनका ३० भन्दा बढी मुद्दा दर्ता भएको पनि प्रहरीले जनाएको छ।

त्यस्तै, नेदरल्यान्डका नागरिक ६७ वर्षीय हेन्क मुल्हाजेन २०६५ सालमा बालकसँग यौन दुव्र्यवहार गर्दागर्दै काठमाडौंको सामाखुसीबाट र·ेहात पक्राउ परे। उनलाई बाल–यौन दुव्र्यवहार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले ९ वर्षको जेल सजाय सुनायो। उनले ‘हाम्रो जीवन’ नामक बालगृह खोलेर नेपाली बालकहरूलाई यौन दुव्र्यवहार गरेको खुल्न आयो। उनले बालगृहमा आश्रित ८ बालिकाबाहेक सबैजसो बालकलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो। उनले ४८ बालबालिकालाई सो बालगृहमा संरक्षण दिंदै आएका थिए।

१२ जना बालकले अदालतमा आफूमाथि हेन्कले अप्राकृतिक यौन सम्पर्क गरेको, सर्वा· नांगो फोटो खिच्ने, नुहाउँदा यौना· चलाउने, छुन लगाउने गरेको बयान दिएपछि अदालतले यौन दुराचारी भएको ठहर गरेको थियो। उनको साथबाट बालकका सार्वा· नग्न फोटो तथा अश्लील सिडीहरू फेला परेका थिए।

नेपाल भ्रमणमा रहने असली पर्यटक तथा पर्यटनको बहानामा नेपाल प्रवेश गर्ने दुवै खालका पर्यटकहरू तथा व्यापारी बाल–यौनशोषणमा संलग्न रहेको देखिन्छ। तर कति बालबालिका बाल–यौन दुराचारीबाट पीडित भएका छन्, ललाईफकाई वा जबरजस्ती कुन रुपमा उनीहरूमाथि शोषण गरिन्छ, कुन प्रक्रियाबाट बालबालिका बढी पीडित बनेका छन्, यसको अनुपात के छ,निरन्तर शोषण कार्यमा लागेका र कहिलेकाहीं यस्तो कार्य गर्ने पीडकको अनुपात के छ, कुन चाँहि उमेर समूहका बालबालिका बढी यौनशोषण गर्दछन् भन्ने प्रश्नका जबाफ खोज्ने प्रयास भने कतैबाट भएको पाइएको छैन।

पोखराको स्टार बालगृहका सञ्चालकसमेत रहेका ब्रिटिस नागरिक क्रिस्टोफर आर फ्रेजर जेक्लिनलाई २०५६ वैशाखमा बालगृहका बालकलाई यौन दुराचार गरेको आरोपमा समातियो। प्रहरीको अनुसन्धानले उनीमाथिको आरोप प्रमाणित पनि गर्यो। त्यसपछिमात्र नेपालमा पश्चिमी देशका बाल–यौन दुराचारीहरू विभिन्न भेषमा सक्रिय रहेको तथ्य खुल्न आयो।

के हो बाल यौनदुराचार ?

बाल–यौन दुराचार भन्नाले वयस्कहरूले बालबालिकामाथि गर्ने यौन दुव्र्यवहार भन्ने बुझिन्छ। दुराचारीहरू बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बालबालिकाको यौना· चलाउने, स्पर्श गर्ने, चुम्बन गर्ने गरेर यौन तृप्ति लिने गर्दछन्। बाल–यौन दुराचारीले बालबालिकालाई विभिन्न यौन क्रियाकलापहरूको चित्र, भिडियो देखाएर दबाबमा पारेर यौनशोषण गर्ने गर्दछन्। विशेष गरेर बाल–यौन दुराचारीहरूले आर्थिक अवस्था कमजोर भएका बालबालिका तथा अन्य बालबालिकालाई विभिन्न किसिमले प्रलोभनमा पारी यौन शोषण गर्दछन्। बाल–यौन दुराचार (पेडोफेलिया) लाई मानसिक रोग तथा बाल–यौन दुराचारी (पेडोफाइल)लाई मनोरोगीका रुपमा लिएको पाइन्छ।

काठमाडौंमा एक दशकभन्दा लामो समयदेखि कार्यरत बालअधिकारकर्मी कविता शाहले भनिन्– ‘उनीहरू बालबालिकाप्रति माया गरेझैं नजिकिदै यौन दुव्र्यवहार गर्छन्, बालकलाई दुव्र्यवहार भइरहेको छ भन्ने सोच्नसमेत मौका दिंदैनन्। संरक्षक र सहयोगी पाएको ठान्दाठान्दै सजिलै उनीहरू बाल–यौनदुराचारीको पञ्जामा पर्छन्।’

कानुन अन्वेषण तथा स्रोतविकास केन्द्र (सेलर्ड)ले २०७३ माघमा गरेको एक अध्ययनले भनेको छ, ‘गैरपर्यटकीय उद्देश्यका लागि नेपाल प्रवेश गर्ने व्यक्तिलाई निगरानी गर्ने अथवा पर्यटकको आफ्नो देशमा रहँदाको बालयौनशोषणको आपराधिक पृष्ठभूमि हेर्न सक्ने गरी प्रवेशाज्ञा दिने अधिकारीको प्रावधान हुनेगरी अध्यागमनसम्बन्धी कानुन तथा नीति ल्याउनुपर्दछ।’ कानुन र छुट्टै नीति नहुँदा उनीहरू नक्कली पासपोर्टलगायतका कागजात लिएर नेपाल छिर्न सफल हुन्छन्। अध्ययनले कमजोर कानुनको दुरुपयोग गरी नेपाललाई सहज गन्तव्यका रूपमा बालयौन दुराचारीले प्रयोग गर्ने गरेको जनाइएको छ।

पीडितको अनुभव

झापाका १९ वर्षीय सनम अधिकारी (परिवर्तित नाम) आफू ९ वर्षको हुँदा कसरी यौन दुव्र्यवहारमा परें भनेर जानकारी गराउँछन्। ‘सानो छँदा म छिमेकी दाइसँग भिडियो खेलखेल्न जान्थें। त्यो क्रममा दाइले मलाई शरीरका भित्री भागमा छुने गर्थे’, सनमले भने, ‘पछि–पछि त पाइन्ट खोल्ने, टिसर्ट खोल्ने गर्न थाले।

त्यसपछि केटा–केटाबीच पनि यौन सम्पर्क हुन्छ भन्ने मलाई थाहा भयो। ती दाइले मलाई तीन महिनाजस्तो यस्तै गरिरहे।’
विदेशी पर्यटकको रुपमा मात्रै होइन सनमको घटनाले नेपाली पनि बाल–यौन दुराचारी हुने गरेको तथ्य खुल्यो।

सनमले त्यो बेला आफूसँग भएको दुव्र्यवहारको न प्रतिकार गर्न सके नतपरिवारलाई भन्न नै। उनले भने, ‘मैले यो के गरिरहेको छु कस्तो गरिरहेको छु, मलाई कसले के गरिरहेको छ केही थाहा थिएन। घरपरिवार कसैलाई भन्नसक्ने अवस्था भएन। केही महिनापछि ती दाइ विदेश गए। म १६–१७ वर्षको पुगेपछि थाहा भयो– म दुव्र्यवहारमा परेको रहेछु।’

तीन महिनासम्म अत्याचार भोगेका उनले केही समय जवरजस्ती सहे तर उनलाई मानसिक रोगले सताउन थालिसकेको थियो। उनी चारमहिना स्कुल जानै सकेनन्। कोठामा एक्लै टोलाएर बस्थे। खानामा पनि रुचि थिएन।
अझै पनि हाम्रो समाजमा बालकहरू पुरुषबाट पनि यौनशोषणमा पर्छन् भन्नेमा विश्वास नगर्नाले यस्तो घटनाहरू घटेको उनको बुझाइ छ। त्यस्तै परिवार भित्रैबाट यस्ता खालका घटनाहरू घट्ने गरेको पनि पाइन्छ। कुनै बालकलाई आफ्नो परिवारभित्रै तँ दाइसँग सुत्, मामा वा काकासँग सुत् भनिन्छ। घटना यहींबाट शुरु हुने बाल–यौन दुराचारविरुद्ध कार्यरत अधिकारीहरूले बताए।

तथ्याङ्कले के भन्छ ?

बाल–यौन दुराचारविरुद्ध काम गरिरहेको एक सामाजिक संस्था साथसाथका अनुसार सन् २०१३ देखि हालसम्म ३ सय ६१ वटा बाल–यौन दुराचारका घटनाहरू बाहिर आएका छन्। त्यस्तै, आर्थिक वर्ष २०७२÷०७३ मा प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयको अभिलेखमा आएका कुल १ हजार ९० वटा जबरजस्ती करणीको घटनामा ६२.५ प्रतिशत पीडित (६ सय ८१ जना) १८ वर्षमुनिका बालबालिका छन्। यसै गरी जबरजस्ती करणी उद्योगमा ४ सय ५२ घटनामा १८ वर्षमुनिका ५८.८ प्रतिशत (२ सय ६६ जना) पीडित रहेको देखिन्छ।

उमेर समूहका आधारमा हेर्दा जबरजस्ती करणीबाट ६ सय ८१ जना बालबालिकामध्ये १० वर्षमुनिका ३८.२८ प्रतिशत (२ सय १३ जना), ११ देखि १६ वर्ष उमेर समूहका ५१.४० प्रतिशत (३ सय ५० जना) र १७ देखि १८ वर्षका १७.३३ प्रतिशत (१ सय १८ जना)बालबालिका यौन दुव्र्यवहारमा परेका छन्।त्यसैगरी जबरजस्ती करणी उद्योगका दुई सय ६६ घटनामध्ये दश वर्षमुनिका २१.४३ प्रतिशत (५७ जना), ११ देखि १६ वर्ष उमेर समूहका ६२.०३ प्रतिशत (१ सय ६५ जना)र १७ देखि १८ वर्षका १६.५४ प्रतिशत (४४ जना)बालिका रहेका छन्।

महिला तथा बालबालिका सेवा निर्देशनालयको यस तथ्यांकमा आर्थिक वर्ष २०५३÷५४ देखि २०७१÷७२ सम्मका घटनामा महिला तथा बालबालिकासँग सम्बन्धित ८ किसिमका दुव्र्यवहार समेटिएको छ। जबरजस्ती करणी, जबरजस्ती करणी प्रयास, बेचबिखन गर्भपतन, बहुविवाह, बालविवाह, घरेलु हिंसा र बोक्सी आरोप शीर्षकमा घटनाहरू संकलित छन्। तर आर्थिक वर्ष २०७२÷७३ को तथ्याङ्कमा भने अप्राकृतिक यौनकार्य र गुद्द्वार मैथुन र छुवाछुतसम्बन्धी घटनाका हिंसा पनि थपिएको छ। अप्राकृतिक यौन कार्य (गुद्द्वार मैथुन) अन्तरगत १५ घटना दर्ता भएको देखिन्छ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल भन्नुहुन्छ– ‘बालबालिकामाथि दुराचार हुने क्रम बद्ढो छ। दिनहुँजसो हुने यस्तो दुराचारका घटनाका कारण परिवार, छिमेकी, विद्यालयमा पनि बालबालिका सुरक्षित छैनन्। सडक बालकहरूमा ठूलाले सानालाई दुव्र्यवहार गरेको, श्रमिकलाई मालिकले, छिमेकीले र आफ्नै घरभित्रैबाट पनि बालकहरू दुव्र्यवहारमा पर्ने गरेका छन्।

विदेशीहरूलाई बालगृह सञ्चालन गर्न, प्रवेश गर्न, बस्न नपाउने मापदण्ड बनेको छ। बालगृहमा स्वयंसेवकका रुपमा बस्नका लागि विदेशीहरूलाई स्वीकृति चाहिन्छ। जिल्लाहरूमा हो भने सम्बन्धित जिल्ला बालकल्याण समितिबाट स्वीकृति लिनुपर्छ।

समितिले गरेको अनुगमनमा विदेशीहरू बालगृहमा बसेको भेटिएकाले त्यहाँबाट उनीहरूलाई निकालियो। बालगृहहरू व्यवस्थित गराउनका लागि हामी लागिपरेको उहाँ बताउनुहुन्छ।

कानुनी व्यवस्था

बालबालिकाविरुद्ध बलात्कार, वेश्यावृत्तिमा संलग्न गराउने, गैरकानुनी यौन तथा अश्लील चित्रणमा बालबालिकालाई सहभागी गराउने कार्यलाई कानुनले फौजदारी कसुर मान्दछ। यसलाई फौजदारी कसुर कायम गर्नुपर्ने खाँचोे हुन्छ भन्ने कुरालाई बालदुराचार तथा बालयौन अपराधसम्बन्धी अवधारणा र अन्तर्राष्ट्रिय कानुनले औँल्याएको छ। तर, नेपालमा बालयौनशोषणसम्बन्धी खास कानुन नहुँदा न्याय सम्पादनमा बाधा परेको देखिन्छ।

बालबालिकासम्बन्धी ऐनले समेत बालयौन शोषणका बारेमा स्पष्ट बोलेको छैन। मुलुकी ऐन २०२० को तेह्रौं संशोधन(९ क) मा बालयौन दुराचार (पेडोफिलिया) भनी व्याख्या गरेको छ। साथै पीडकलाई थप १ वर्ष सजाय तोकिएको छ। यसअघि भने सो दफामै अप्राकृतिक मुख मैथुन भनेर व्याख्या गरिएको थियो।

पीडित बालकहरूका लागि वकालत गरिरहेका काठमाडौंका कानुन व्यवसायी सन्तोष महर्जन भन्नुहुन्छ– ‘पहिलेपहिले ऐनमा बाल–यौन दुराचार भनेर उल्लेख नहुँदा न्याय सम्पादनमा समस्या देखिएको थियो। यो पछिल्लो संशोधनले केही सहज बनाएको त छ नै तर पूर्ण चाहिं होइन।

पीडित बालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले पीडकबाट मनासिब माफिकको क्षतिपूर्तिसमेत भराई दिनुपर्ने ऐनमा उल्लेख छ। कानुन व्यवसायी महर्जनकाअनुसार मुलुकी ऐनमा जवरजस्ती करणीसम्बन्धी केही प्रावधान रहे पनि त्यो अपूर्ण छ, यसका लागि बालयौन दुराचारसम्बन्धी छुट्टै ऐन बन्नुपर्छ। ‘मुलुकी ऐनमा बाल–यौन दुव्र्यवहार त भनेको छ तर बालक र बालिका दुबैलाई न्याय दिन यो ऐन पर्याप्त छैन। अहिलेको कानुनमा कसलाई कति सजाय दिने भन्ने स्पष्ट पारेको छैन,’ उहाँ भन्नुहुन्छ।

जबरजस्ती करणी महलको ३ नम्बरमा जबरजस्ती करणी गर्नेलाई पीडित १० वर्षमुनिको भए १० देखि १५ वर्ष कैद, १० देखि १४ वर्षको भए ८ देखि १२ वर्ष र १४ देखि १६ वर्षको भए ६ देखि १० वर्ष कैद गर्नुपर्ने प्रावधान छ। संशोधित ऐन पनि विदेशी नागरिक भए कस्तो सजाय गर्ने भन्नेबारेमा मौन छ। अप्राकृतिक मैथुनलाई गम्भीर प्रकृतिको मानिसकेपछि पीडकलाई आधा अंश किन नभराउने, महर्जन प्रश्न गर्नुहुन्छ।

सुरक्षित कसरी रहने ?

– सकेसम्म एक्लै नबस्ने

-कसैलाई पनि विनाकारण आफ्नो शरीरमा छुन नदिने

-कसैले छुन खोजे, मन नपरेको प्रतिक्रिया दिने

-जवरजस्ती गर्न खोजेमा झन ठूलो स्वरमा चिच्याउने, अरुलाई गुहार्ने, आत्मरक्षाका उपाय अपनाउने

-अपरिचित व्यक्तिको वा आफूले राम्रोसँग नचिनेको नबुझेको व्यक्तिको भनाइमा नलाग्ने।

– विदेशी तथा स्वदेशी पर्यटकको आर्थिक प्रलोभनबाट बच्न बालबालिकाई सचेतना दिने

-आफ्नो विश्वासपात्र अभिभावक बाहेक अन्य व्यक्तिसँग सम्बन्ध राख्दा विचार पुर्याउने

– कुनै व्यावसायिक काम गर्ने बाध्यता छ भने पनि आफ्नो उमेरले सक्दो सुहाउँदो मात्र काम गर्ने र कतै शोषण हुन
लागेको अवस्थामा आफू बच्ने बच्न नसके तत्काल उजुरी गर्ने।

जोखिममा परियो भने के गर्ने ?

-नजिकको ब्यति (आमा, बुवा, हजुरआमा, हजुरबुवा, शिक्षक, साथी आदिलाई जानकारी दिने

– बालबालिकासँंग काम गर्ने निकायहरूसँग सहयोग लिने

– प्रमाणका लागि अश्लील वार्तालाप वा चित्रहरू सुरक्षित राख्ने

-बालबालिकालाई दुःख दिने, सताउनेहरूबाट टाढा राख्ने।

– बालबालिकामा मनोसामाजिक समस्या देखिएमा मनोसामाजिक मनोविमर्श सेवा दिलाउने।