दोस्रो चरणका लागि काम धमाधम



९० लाख ९७ हजार ५ सय ५७ जनाले प्रयोग गर्नेछन् मताधिकार

सुनील महर्जन, काठमाडौं
दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचारसंहिता र निर्वाचन कसुरबारे सूक्ष्म अनुगमन गर्ने तयारी अघि बढाएको छ।

दोस्रो चरणको निर्वाचनको मिति असार १४ गते नजिकिँदै गर्दा आयोगले आचारसंहिता र हुन सक्ने निर्वाचन कसुरबारे निगरानी थालनी गर्न लागिएको आयोगका सचिव गोपीनाथ मैनालीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

पहिलो चरणको निर्वाचनमा भएका आचारसंहिता उल्लंघन र निर्वाचन कसुरसम्बन्धी घटनालाई समेत सन्र्दभका रुपमा लिएर यसपटक निगरानी कडा बनाउन लागिएको आयोगले जनाएको छ।

यसका लागि तीन जना सचिव र केही सहसचिवसहित ४३ जनाको अनुगमन टोली गठन गरिएको आयोगले जनाएको छ। टोलीमा कानुन मन्त्रालयका सचिव कमलशाली घिमिरेलगायत सचिवहरू रहनुभएको छ।

अनुगमन टोलीलाई यही जेठ ३० गते अभिमुखीकरण तालिम दिई अनुगमन गर्न जिल्ला जिल्ला पठाउने आयोगको तयारी रहेको छ। पहिलो चरणको निर्वाचनताका तीन ठूला दललाई आचारसंहिता पालना गराउन पटकपटक चुकेको भनी आयोगको आलोचना भएको अवस्थालाई समेत मध्यनजर गरेर आयोगले अनुगमन कार्य कडा बनाउन लागेको बताइएको छ।

पहिलो चरणको निर्वाचन अपेक्षाकृत शान्तपूर्ण रुपमा भए पनि भरतपुर महानगरपालिकामा मतपत्र च्यातिनुजस्ता निर्वाचन कसुर भएकोले त्यस्ता घटना अन्यत्र हुन नदिनसमेत अनुगमन टोलीको मुख्य दायित्व हुने आयोगका सचिव मैनालीले जानकारी दिनुभयो।

पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौती रहेकाले पनि निगरानी कडा बनाउनुपर्ने आयोगको प्रारम्भिक निष्कर्ष रहेको छ।

यसैबीच पहिलो चरणको निर्वाचनमा मतपत्र धेरै बदर भएको गुनासो आएकाले दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाउनुका साथै भोजपुरी, मैथली, अवधिलगायत विभिन्न राष्ट्र भाषामा पनि मतदाता शिक्षा दिने कार्य भइरहेको आयोगले जनाएको छ। सकेसम्म कम त्रुटि हुने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ। मतदाता परिचयपत्र लिन आउने बेला पनि मतदाता शिक्षा दिने योजना बनाएको सचिव मैनालीले जानकारी दिनुभयो।

आयोगका अनुसार निर्वाचनका लागि मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, मतदान गरिसकेपछि लगाउने मसीलगायत सम्पूर्ण निर्वाचन सामग्री सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतका लागि छुट्याइसकिएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान केन्द्र जाने बेला सो सामग्री सम्बन्धित मतदान केन्द्रमा पुर्याइने र आयोगबाट सम्पूर्ण तयारी भइसकेको जनाइएको छ।

दोस्रो चरणको निर्वाचनका लागि यही असार २ देखि ५ गतेसम्म उम्मेदवार मनोनयन दर्ता गराउने, दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिने निर्वाचन कार्यतालिका रहेको छ।

पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणको निर्वाचनमा जिल्ला, मतदान केन्द्र र मतदाताहरू धेरै रहेका छन्। दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहमा १२ उपमहानगरपालिका, १ सय ५६ नगरपालिका र २ सय ९३ वटा गाउँपालिका छन्। मतदान केन्द्र ११ हजार ९ सय ३१ रहनेछन्। निर्वाचन आयोगका अनुसार मतदाता संख्या ९० लाख ९७ हजार ५ सय ५७ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्