बेपत्ता विमानको भग्नावशेष र केही शव प्राप्त, विमानमा १ सय २० यात्रु


यांगुन, (एजेन्सी)
म्यान्मारको बेपत्ता विमानको भग्नावशेष अन्डमान सागरमा फेला परेको अधिकारीहरुले बताए। उक्त विमानमा १ सय २० यात्रु थिए। सेनाले फेसबुकमा जारी गरिएको एक विज्ञप्तीमा विमानमा यात्रा गरिरहेका सैनिकहरुको शव पनि भग्नावशेषसँगै बरामद भएको उल्लेख गरेको छ।

वाई ८ नामक उक्त चीनमा बनेको विमान सामान ढुवानीमा प्रयोग हुन्थ्यो। विमानमा १४ जना चालक दलका सदस्य र १ सय ६ जना यात्रु प्राय सैनिक र उनका परिवारका सदस्य थिए। खोजीमा परिचालित जहाले दुईवटा लाइफ ज्याकेट, तीनवटा शव र विमानको एउटा टायर फेला पारेको जनरल म्याट मिन ओओले बताए। ती भग्नावशेषहरु लाउंग लोन शहरबाट पश्चिममा पर्ने सागरमा फेला परेका हुन्।

मर्नेमा बच्चा पनि रहेको अधिकारीहरुले बताए। १५ जना यात्रु बालबालिका थिए। उक्त विमान मेइकबाट यांगोनको उडानमा थियो। विमानको भग्नावशेष दावेइबाट बरामद भएको हो। यसअघि सेनले बुधबार स्थानीय समय १ः३५ बजे अचानक विमानसँगको सम्पर्क विच्छेद भएको जानकारी दिएका थिए। त्यसबेला विमान दावेइ शहरबाट २० माइल पश्चिममा उडान भरिरहेको उल्लेख गरिएको थियो। बुधबार सञ्चार माध्यमहरुले विमानमा १ सय १६ यात्रु रहेको जानकारी दिएको थियो। विमान दुर्घटना हुनाको कारण प्रष्ट भइसकेको छैन।