बाबुको पितृकार्य गर्न कोरामा बसिन उर्मिला


चिरञ्जीवी मास्के, दोलखा
दोलखा शैलुङ्गेश्वर गाँउपालिका–५ काटाकुटीकी उर्मिला कार्की बाबुको मृत्यु पछि पितृकार्य गर्न कोरामा बसेकी छन्।

बाबुको मृत्युपछि अहिले उनी छोराले जसरीनै कोरामा बसेर पितृकार्य गरिरहेकी छन्। उनको बाबु लीलाबहादुर कार्कीको ७२ वर्षको उमेरमा जेठ १८ गते मृत्यु भएको थियो। छोरा नभएकाले बुबा जहिले पनि मेरो किरीया कसले गर्ला भनेर चिन्ता गरिरहनुहुन्थ्यो उर्मिलाले भनिन्– ‘मैले बुबालाई छोरा जसरी नै सेवा गर्छु, कुनै पनि कुरामा छोराको कमी महशुस हुने अवस्था बनाउदिन भनेको थिएँ अहिले त्यही बचन पूरा गरिरहेको छु।’

तत्कालीन काटाकुटी गाविसमा नेपाली कांग्रेसको पार्टी सभापति रहेकी उर्मिला स्थानीय तहको निर्वाचनमा शैलुङ गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवारसमेत बनेकी थिइन। उनी एमालेको लालमाया योञ्जनसंग पराजित भएकी हुन्। सामाजिक दायित्वमा सक्रिय र इमान्दार रहनेले राजनीतिमा पनि सफलता पाउने कार्की बताउँछिन्।

कतिपय मानिसले छोरा नभएपछि सामाजिक संस्कारमा असर पर्ने सोचाइ राख्ने गरेको उल्लेख गर्दै उर्मिलाले भनिन्– ‘छोरा र छोरीमा कुनै भिन्नता छैन, तर छोरीले सामाजिक दायित्व भने इमानदारीतापूर्वक पूरा गर्नुपर्छ। उर्मिलाका दुईजना दिदीहरू पनि छन्।’

जेठी दिदीको विवाह भइसकेको र माइली दिदीले घरायसी काम गर्नुपर्ने भएकाले आफूमात्र छोपो हालेर कोरामा बसेको उर्मिलाले बताइन्। उनीसंग उनकी आमा पनि जुठोमा बसेकी छन्। दिदीहरूले भने कोरामा नबसी जुठो बारेको उर्मिलाले बताइन्।‘हिन्दू संस्कारअनुसार एक वर्षसम्म बाबुको पितृकार्य छोरासरह पूरा गर्ने उर्मिलाको भनाइ छ। म राजनीतिमा मात्र हैन सामाजिक अभियानमा पनि बाबुले देखाएको मार्ग अगाडि बढ्नेछु – उर्मिलाले भनिन्।