शान्तिका लागि पैदलयात्रा, मेचीबाट हिँडेको ५० दिनमा कैलालीको अत्तरियामा


हेमन्त पौडेल, कैलाली
देशमा दीगो शान्तिको कामना गर्दै रुपन्देहीको भैरहवाका छविलाल धवन मेची–महाकाली पैदल यात्रामा निस्किएका छन्।

सिद्धार्थनगर नगरपालिका–६ दयापथका धवन २०७४ वैशाख ५ गते पूर्वको मेची नदीको किनारबाट पैदल यात्रा शुरू गरेका हुन्।

देशमा हत्याहिंसाको अन्त्य भई दिगो शान्ति स्थापना होस र देशले प्रगति गरोस् यो कार्यमा सबैलाई शक्ति प्राप्त होस् भन्दै आफूले पैदलयात्रामा निस्कने निर्णय गरेको उहाँको भनाइ छ।

५० दिनमा कैलालीको अत्तरिया पुग्नुभएका पैदलयात्री धवनले स्थानीयहरूसंग भेट गरेर शान्ति स्थापनाका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक हिक्मत बोहराले समन्वय गर्नुभएको थियो। पैदलयात्री धवनले राजमार्ग क्षेत्रमा रहेको नेपाल प्रहरीको सहयोग लिँदै यात्रा गरेको जानकारी दिनुभयो।

आफ्नो यात्राका क्रममा नेपाल प्रहरीले गरेको सहयोग अविस्मरणीय भएको उहाँको भनाइ छ। राजमार्ग क्षेत्रमा पर्ने आरक्षहरूमा नेपाल प्रहरीले स्कटिंग गरेर सहयोग गरेकोमा धवनले खुसी ब्यक्त गर्नुभयो।

पछिल्लो समयमा हत्या, हिंसा, अराजकता बढ्दै जाँदा समाजमा नकारात्मक असर पर्दै गएकाले केही सन्देश दिन सकिन्छ कि भन्ने उद्देश्यले आफूले निरन्तर पैदलयात्रामा निस्कने गरेको उहाँले जानकारी दिनुभयो।

विगत १३ वर्षदेखि पैदलयात्रामा निस्कने गरेको बताउने धवनले यसअघि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको बुद्ध सरावस्तीमा पनि पैदल पुगेर फकिएको बताउनुभयो।

वैशाख जेठको चर्को गर्मीसमेत नभनेर उहाँले आफ्नो यात्रा जारी राख्नुभएको छ। दैनिक २० देखि २५ किलोमिटरको दूरी पार गर्ने गरेको उहाँको भनाइ छ। आफ्नो पैदल यात्राप्रति स्थानीयहरूले चासो राख्ने गरेको उहाँले सुनाउनुभयो।

पिठ्युमा झोला र त्यसमा राष्ट्रिय झण्डा राखेर राजमार्गको किनारमा आफ्नो गन्तव्य पूरा गर्नु उहाँको दैनिकी बनेको छ।

हाफपैंट र चप्पल लगाएर उहाँले यात्रा गरिरहनुभएको छ। बिहीबार कैलालीको अत्तरिया पुग्नुभएका धवन अत्तरिया बास बसेर शुक्रबार महाकालीतर्फको यात्रामा निस्कने कार्यक्रम रहेको छ। शुक्रबार झलारीसम्मको यात्रा तय गरेर शनिबार महाकाली पुग्ने लक्ष्यका साथ उहाँ यात्रा गरिरहनुभएको छ।

शुरूका दिनहरूमा पैदल हिँड्दा केही असहज भए पनि आजभोलि नियमित पैदल हिँड्ने गरेकाले खासै समस्या नहुने उहाँको भनाइ छ। देशमा शान्ति कायम भएमा आफ्नो लक्ष पूरा हुने विश्वास धवनको छ।