सिंगो गाँउ अपाङ्गताको समस्याबाट प्रभावित

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ बाबियोडाँडामा रहेको टहराको सानो कोठा, १७ बर्षिय सितल तमाङ र १४ बर्षिय सुमन तमाङ चुपचाप बसिरहेका छन् ।

न मनमा खुशी, न बाहिरको चहलपहलसंग चासो । किनभने उनीहरु दुबैजना शारिरीक रुपमा अशक्त छन् । दुबै खुट्टा नचल्ने उनीहरु घस्रिएर हिड्न समेत सक्दैनन् । अचम्म त के छ भने बाबियोडाँडा खारेको २२ घर भएको तमाङ बस्तीमा उनीहरु जस्तै ७ जना बालबालिका अपाङ्गता भएका छन् ।
सानो कोठामा मोवाईलमा गित सुनेर वा दाजुभाइ आपसमा गफिएर दिन विताउने गरेका सितल र सुमनलाई बाहिर भित्र गर्नु परे वा सौचालय लानु परे बाबु आमा मध्य कोहि एकले सहयोग गर्नु पर्छ । सितल र सुमन जन्मदै अपाङ्गता भएका भने हैनन् । सामान्य अवस्थामै जन्मिएका उनीहरु ३÷४ बर्षको भएपछि खुट्टा सुक्दै जाने र हिड्न नसक्ने समस्याबाट पीडित भएका हुन् ।

कक्षा १ सम्म पढेका सितल खुट्टामा समस्या भएर हिडडुल गर्न नसक्ने बनेपछि पढाई छोड्न बाध्य भएका थिए । तर सुमनले भने पढ्ने अवसरनै पाएनन् । हिड्डुल गर्न नसक्दा र बाबु आमालाई समस्या भएको देख्दा साहै पीडा हुने गरेको बताउने सितल उपचार गरेर अरु जस्तै सामान्य बन्न सके धेरै पढेर बाबुआमाको सेवा गर्ने बताउछन् । तर अब उपचार पछि पनि ठिक हुन्छ भन्ने विश्वास नरहेको सितलले बताए ।

सितल र सुमनको बुबा धनबहादुर तमाङ – छोराहरुको खुट्टामा समस्या देखिएपछि गाँउको स्वास्थ्य केन्द्र देखि सदरमुकाम चरिकोटको अस्पतालहरुमा समेत उपचारको लागि लगेको र भएको पैसा सकिएकोले थप उपचारको लागि भने काठमाडौँ लान नसकेको बताउछन् । तीन बर्षसम्म सामान्य रहेको उनीहरुमा तीन बर्षको उमेर देखि समस्या रहेको र सुरु सुरुमा घस्रिएर हिड्ने दाजुभाइ अहिले बसेको ठाँउबाट कतै चल्न नसक्ने अवस्थामा पुगेको धनबहादुरले बताए ।

सितल र सुमनको जस्तै समस्या प्रमिला तमाङको २ बर्षिय छोरा पेम दोर्जे तमाङ, दधिमाई तमाङको ४ बर्षिय छोरी सुनपती तमाङ र देवीका तमाङको ७ बर्षिय छोरी फुलमाया तमाङको पनि छ । उनीहरु पनि न हिड्न सक्छन् न सुतेको ठाँउबाट आफै हिड्न नै सक्छन् । अझ देवीका तमाङको छोरी फुलमाया त दृष्टिविहिन समेत छन् । त्यसैगरी खारे बाबियोडाँडा तमाङ गाँउकै तक्तबहादुर तमाङको ९ बर्षिय छोरा सुकमान तमाङ र साङ्ले तमाङको १५ बर्षिय छोरा अमृत तमाङ बहिरा छन् । उनीहरु पढ्न भने जाने गरेको अभिभावकले बताएका छन् ।


अपाङ्गता भएकी सुनपतीकी आमा दधिमाई तमाङ छोरीले पढ्न रहर गर्ने भएपनि हिडडुल गर्न नसक्ने र विद्यालयसम्म पु¥याउने सम्भावना नभएकोले पढाउन नसकेको बताउछिन् । छोरीको उपचारको लागि स्थानिय सवास्थ्य चौकीसम्म पु¥याएको भएपनि ठूलो अस्पताल लान भने आर्थिक अभावले नसकिएको दधिमाई बताउछिन् ।
अपाङ्गता भएका पेम र्दोजे तमाङको आमा प्रमिला तमाङ पनि डाक्टरले राम्रो ठाँउमा लगेर उपचार गरे ठिक हुने बताएको भएपनि आर्थिक अभावका कारण राम्रो अस्पतालमा उपचारको लागि लान नसकिएको बताउछिन् । गाँउमा धेरै बालबालिका अपाङ्गता भएका छन् प्रमिलाले भनिन् – राम्रोसंग उपचार गर्न नसकेकोले मेरो छोरा पनि त्यस्तै हुने भयो ।


खारे बाबियोडाँडाको तमाङ गाँउमा धेरै बालबालिकामा अपाङ्गताको समस्या रहेकोले त्यसको कारणबारे खोजि गर्नु पर्ने र त्यस्ता बालबालिकालाई सरकारले सहयोग गर्नु पर्ने स्थानिय देवराम बुढाथोकी बताउछन् । गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ खारेका नवनिर्वाचित वडा अध्यक्ष उदय खड्का उक्त गाँउमा देखिएको समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र अपाङ्गताको समस्या बारे खोजि हुनुपर्ने बताउछन् । वडा अध्यक्ष खड्का आफुले बिभिन्न निकायसंग समन्वय गरेर अपाङ्गता भएका बालबालिकाको सहयोग र समस्याको पहिचान गर्न प्रयत्न गर्ने बताउछन् ।


खारे बाबियोडाँडाको तमाङ गाँउमा ७ जना अपाङ्गता भएका बालबालिका रहेपनि दुई जनाकोमात्र अपाङ्गताको परिचयपत्र रहेको स्थानियले बताए । वडा अध्यक्ष खड्का सबै बालबालिकालाई अपाङ्गताको परिचयपत्र दिलाउन र राज्यले प्रदान गर्ने सेवा सुविधा सहज ढङ्गले पाउने अवस्था बनाउन आफुले प्रत्न गर्ने बताउछन् ।