बलिउडका रञ्जित र आइटमगर्लसँगै निखिलको कमिटमेन्ट शुरू

94
Shares

विदुर गिरी

नायक निखिल उप्रेतीको निर्देशन तथा बलिउड र नेपाली कलाकारहरुको संलग्नतामा निर्माणाधीन फिल्म कमिटमेन्टः सिक्स्टी आवर्सको छायांकन शुरु भएको छ। निखिलले नेपालीका साथमा हिन्दी र अंग्रेजी भाषा मिश्रित फिल्म कमिटमेन्टः सिक्स्टी आवर्सको सुटिङ मंगलबारबाट शुरु गरेका हुन्
मंगलबार ललितपुरको च्यासलस्थित फुटबल ग्राउन्डसँगै निखिल बलिउड अभिनेता रञ्जितलाई निर्देशन गर्दै गरेको भेटिए। ‘अहिले रञ्जित सरको सट भइरहेको छ। केही समयपछि उहाँको सट आजका लागि सकिन्छ र उहाँ आजका लागि फ्रि हुनुहुन्छु, निखिलले भने– ‘अहिले हामी रञ्जित सरसँग रिलेटेड गाडीको सिक्वेन्सहरु खिचिरहेका छौं। यो वास्तवमा भारतको भोपालको पार्ट हो, क्लोज सट जति चिट गरेर खिचिरहेको छु। यो फिल्ममा धेरै सिन भारतको हुनेछ। क्लोज सट यसै गरी यतै खिच्छौं, वाइड सटहरुचाहिँ भारतकै विभिन्न स्थानमा गएर खिच्नेछौं।’

निखिलले एक्सनसँग सम्बन्धित सटहरुसँगै आइटम सटको काम पनि गराइरहेका थिए। आइट सङको कामचाहिँ कोरियोग्राफर रामजी लामिछानेले अगाडि बढाइरहेका थिए। आइटम सङमा आइटम अदा पस्कँदै थिइन् बलिउडकै म्यान्सी। उनलाई बलिउडमा क्याटबरी गर्लका रूपमा चिनिन्छ। फिल्ममा बलिउडका ख्याती प्राप्त कलाकारहरु रञ्जितका साथमा सयाजी सिन्दे, अनन्त जोग, अली जफर, न्यान्सीले अभिनय गर्दै छन्। फिल्मको मुख्य भूमिकामा निखिल स्वयंले अभिनय गर्दै छन्। उनका साथमा विजय लामा पनि यसका कलाकार रहनेछन्।

नेपालसँगै भारत, अमेरिका, थाइल्यान्ड र सिंगापुरको सुटिङ सेड्युल बनाइएको यो एक्सन फिल्मको बजेट साँढे २ करोडदेखि ३ करोडसम्म हुने निखिलले जानकारी गराए। उनका अनुसार फिल्ममा ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुनेछ। फिल्मको रिलिज नेपाल र अन्य देशसँगै भारतमा पनि व्यापकरूपमा हुनेसमेत निखिलले जानकारी गराए। ‘यो फिल्मको टार्गेट मार्केट इन्डिया पनि हो। बलिउडका ठूला हिन्दी फिल्म रिलिज हुने भारतका ठूल्ठला मल्टिप्लेक्स हलमा पनि कमिटमेन्टः सिक्स्टी आवर्स रिलिज हुनेछ’, नेपाल समाचारपत्रसँग कुरा गर्दै निखिलले भने– ‘यो नेपाली फिल्मको व्यापार विस्तारका लागि नौलो खुट्किलासमेत भएकाले नेपाली फिल्म इन्डस्ट्रिका लागि पनि महत्त्वपूर्ण अवसर हुने विश्वास छ।’ फिल्म कुनै एक व्यक्तिलाई मुम्बईबाट रेस्क्यु गरेर नेपाल ल्याउनका लागि एक व्यक्तिले गरेको ६० घन्टाको प्रतिबद्धताभित्र घुम्नेछ।

सुपरहिट फिल्म भैरवबाट निर्देशनमा डेब्यु गरेका निखलको निर्देशनमा निर्माणाधीन यो दोस्रो फिल्म भारतको प्रामा इन्स्टुमेन्टसले निर्माण गरिरहेको छ। जसमा निखिलको होम प्रोडक्सन निखिल उप्रेती प्रोडक्सनले निर्माणमा सहकार्य गरिरहेको छ। फिल्ममा फाइट डिजाइन निखिल स्वयंले गरिरहेका छन् भने लेखन पनि उनकै छ। फिल्ममा गीत डा. कृष्णहरि बराल, संगीत एडिन प्रधान, द्वन्द्व हिमाल केसी र छायांकन सौरभ लामाको रहेको छ।