वास्तुशास्त्र प्राचीन विज्ञान हो, वास्तुशास्त्रको पालन गरी बनाइएका घरमा बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। वास्तुशास्त्रले कुन चीजलाई कुन दिशामा राख्नु उपयुक्त हुन्छ र सकारात्मक ऊर्जाको प्रवाहमा व्यवधान गर्दैन भन्ने विषयमा सैद्धान्तिक व्याख्या गरेको छ। पञ्चतत्त्वको मिश्रणबाट नै कुनै पनि संरचनाको निर्माण भएको हुन्छ र मानव शरिर पनि तिनै पृथ्वी, जल, वायु र आकाशबाट बनेको हुनाले नै वास्तु दोष हुने गर्दछ।
वैदिक कालमा यज्ञ तथा प्रकृति पूजा नै ज्ञानको आधार मानिन्थ्यो। वेदमा वास्तु शास्त्रका विषयमा संक्षिप्त परिचय मात्र पाइन्छ जहाँ पूरा प्रकृतिलाई नै वास्तु ब्रह्रम भनी व्याख्या भएको छ। तर, सोही वेदको व्याख्याका रूपमा आएका उपनिषद् र पुराणहरूमा वास्तु विषयले विस्तृत रूप लिइसकेको पाउन सकिन्छ। आचार्य उग्रादित्यले कल्याणकारक नामक ग्रन्थमा ‘तत्रादितो वेश्मविधानमेव, निगद्यते वास्तु विचारयुक्तम्।’ अर्थात् भवनको निर्माण गर्दा सर्वप्रथम वास्तुशास्त्रीय दृष्टिले भू परीक्षण र भवन निर्माण योजनाको विचार गर्नुपर्दछ भनी वास्तुशास्त्रका विषयमा लेख्नुभएको छ। त्यस्तै उमास्वामी आचार्यले श्रावकाचार काव्यको श्लोक नम्बर ११२ र ११३ मा वास्तुशास्त्रको सामान्य प्रयोगका विषयमा
लेख्नुभएको छ।
पूर्वस्यां श्रीगृहं कार्य आग्नेयां तु महानसम्।
शयनं दक्षिणस्यां तु नैऋत्यामायुधादिकम्।।
भुक्तिक्रिया पश्चिमस्यां वायव्ये धन संग्रहः।
उत्तरस्यां जलस्थानमैशान्यां देवसद्गृहम्।।
अर्थः उमास्वामी आचार्यद्वारा लिखित श्रावकाचार नामक पुस्तकमा पूर्व दिशामा शोभागृह, आग्नेय दिशामा भान्सा कोठा, दक्षिण दिशामा शयनकक्ष, नैऋत्य दिशामा आयुधशाला, पश्चिम दिशामा भोजनगृह, वायब्य दिशामा धन संग्रह, उत्तर दिशामा जलश्नान र ईशान
दिशामा देवस्थान अर्थात पूजाकोठा बनाउनुपर्दछ।
यजुर्वेदको स्थापत्य अध्यायअन्तर्गत वास्तुशास्त्रलाई दुई भागमा बाँडिएको छ–देवशिल्प र मानवशिल्प। देवशिल्पअन्तर्गत मठमन्दिर र यज्ञशाला आदि धार्मिक संरचना निर्माण वि िका बारेमा उल्लेख गरिएको छ भने मानवशिल्पमा आवाशीय भवनका विभिन्न कक्ष बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणबारे सविस्तार उल्लेख छ। भूमि वास्तु, घरायसी वास्तु, व्यावसायिक वास्तु, धार्मिक वास्तु गरी वास्तुलाई ४ भागमा विभाजन गरिएको छ। वास्तुशास्त्रको पूर्वप्रयोग र विधि अपनाउँदा भौतिक संरचनाहरूको निर्माण डिजाइन राम्रो नहुन सक्छ तर वास्तुशास्त्रमा उल्लेख भएझैँ मासिसका लागि धु्रवीय व्यवस्थापन महत्त्वपूर्ण रहने वास्तुशास्त्रीहरू बताउँछन्।
प्रासादो मण्डपश्चैव, विना शास्त्रेण यः कृतः।
विपरीतं विभागेषु, योद्रन्यथा विनिवेशयेत्।।
विपरीतं फलं तस्य, अरिष्टं तु प्रजायते।
आयुर्नाशो मनस्तापः, पुत्रनाशः कुलक्षयः।।
यजुर्वेद, स्थापत्य अध्याय प्रथम श्लोक
अर्थः शास्त्र प्रमाणको बिना यदि देवालय, मण्डप, घर, पसल, र व्यावसायिक भवनको निर्माण गर्दा त्यसले विपरित फल दिन्छ, अरिष्ठ हुन्छ, आयुनाश, पुत्रनाश, धननाश, तथा कुलक्षयको सम्भावना रहन्छ।
वास्तुशास्त्रले घरको कुन भाग कस्तो हुन्छ भन्ने जानकारी दिन्छ। वास्तुशास्त्रमा ९ वटा दिशा हुन्छन् जसमा मध्य दिशा पनि एक हो। घर वा कार्यालयको बीच भागसँग व्यक्तिको गहिरो सम्बन्ध हुन्छ। विभिन्न दिशा घरमा सकारात्मक तथा नकारात्मक ऊर्जा प्रवाह गरिरहेका हुन्छन्। वास्तुशास्त्रीहरूले घर वा व्यावसायिक भवनको निर्माण गर्दा विभिन्न कक्षको गलत चयनले उत्पन्न हुने नकारात्मक
ऊर्जाले पारिवारिक र व्यावसायिक उन्नतिमा बाधा पुर्याइरहेको हुन्छ।
दक्षिण दिशाको सम्बन्ध व्यक्तिको करियरसंँग सम्बन्धित हुन्छ। घर अथवा अफिसको दक्षिण दिशामा रातो रङको प्रयोग उत्तम मानिन्छ। दक्षिण दिशालाई सफासुग्घर राख्न पनि उत्तिकै जरुरी छ। घरको दक्षिण पश्चिम दिशाको सम्बन्ध व्यक्तिको कुशलता, बुद्धिमता र ज्ञानसंँग जोडिएको हुन्छ। साथै उक्त दिशा अध्ययन र शिक्षासँंग पनि सम्बन्धित हुन्छ। घरको पश्चिम दिशा व्यक्तिको लगाव, परिवार र पारिवारिक सम्बन्धसँग जोडिएको छ। रङरोगन गर्दा घरको पश्चिम दिशामा सुनौलौ, सिल्भर वा सेतो सङको प्रयोग गर्नुपर्छ। उत्तर पश्चिम दिशाको सम्बन्ध मानिसको धन र समृद्धिसँग जोडिएको हुन्छ।
उत्तर दिशाले व्यक्तिको सामाजिक सम्मान र मानप्रतिष्ठासँग सम्बन्ध राख्दछ। उत्तर दिशामा गाडा हरियो रङको प्रयोग उत्तम मानिन्छ। उत्तर पूर्व दिशासँग प्रेम, विवाह, पति पत्नी सम्बन्ध जस्ता विषय जोडिएका हुन्छन्। पूर्व दिशाको सम्बन्ध बालबालिकासँग बढी सम्बन्धित हुन्छन्। यस दिशाले उनीहरूको सोच, पढाई एवम् स्वास्थ्य क्षेत्रलाई नियन्त्रण गर्दछ। यस दिशाका लागि बैजनी रङको प्रयोग उत्तम मानिन्छ। दक्षिण पूर्व दिशा व्यक्तिगत जीवनसँग जोडिएका सहायक व्यक्तिहरू रहेको हुन्छ। आफन्त, इष्टमित्र, साथीभाईसँगको सम्बन्धलाई यस दिशाले प्रतिनिधित्व गर्छ।
आधुनिक यन्त्रको सहयताले भवन वा परिसरमा व्याप्त प्राकृतिक तथा मानव निर्मित वातावरणबाट उत्पन्न विद्युतीय र अन्य तरंगहरूको प्रभावी अध्ययन पनि सम्भव भइसकेको छ। वास्तुशास्त्रको व्यवहारिता र प्रयोगको विषय आफैंमा चुनौतीपूर्ण हो तर पनि हामी पूर्ण रूपमा नकार्न पनि सक्दैनौ भने नकार्न पनि नहुने वास्तुशास्त्रीहरू बताउँछन्। यसर्थ घरको वातावरणले व्यक्तिको विचार र आरचरणलाई असर गर्दछ भन्ने कुरा नै हामी वास्तुशास्त्रको सारांशका रूपमा लिन सक्छौं।
पूर्व – भवनको मुल ढोका, बरन्डा ढोका, झ्याल, शयनकक्ष, भण्डारणकक्ष
पश्चिम – भोजनकक्ष, शौचालय
उत्तर – रिसेप्सन, पैसा राख्ने ठाउँ, बालबालिकाको शयन कोठा, पूजा कोठा, बैठक कोठा, उत्तर दिशाका जमीनको सतह केही अग्लो भएकालाई शुभ मानिन्छ।
दक्षिण – भारित वस्तु र धन सम्पत्तिको भण्डारण गर्नाले बढोत्तरी हुने विश्वास गरिन्छ। घरको दक्षिण दिशामा खुल्लापन खाल्डो वा शौचालय हुन एकदमै नराम्रो मानिन्छ।
दक्षिणपूर्व – अग्निसँग सम्बन्धित कार्य, भान्सा कोठा, जेनेरेटर, ट्रान्सर्फमर, विद्युत् मिटर, संगीत वा नृत्य साधना कक्ष
दक्षिण–पश्चिम – ओजनदार सामान भण्डारण, पानी ट्यांकी, सिँडी, मनोरञ्जन कक्ष
उत्तर–पश्चिम – पाउना कोठा, गोठ, ग्यारेज
उत्तरपूर्व – शयनकक्ष, सभाकक्ष, पठनपाठनका लागि उपयुक्त, अध्ययन भवन, भूमिगत ट्यांकी
प्रतिक्रिया