निर्माण व्यवसायीहरू स्वदेशी निर्माण सामग्रीबाट सन्तुष्ट रहेको बताएका छन्। नेपालमा निर्माण हुने सबैखाले भौतिक पूर्वाधारमा नेपालमै उत्पादित निर्माण सामग्री प्रयोग हुनुपर्ने उनीहरूको भनाइ छ। निर्माण व्यवसायीले निर्माण कार्यमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा बताउनुहुन्छ।
देउजाका अनुसार सरकारबाट पनि निर्माण व्यवसायीलाई स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन भएको हुन्छ। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो–‘नेपालमै उत्पादन हुने निर्माण सामग्रीको गुणस्तर राम्रो छ। यहाँ उत्पादित सबै सामग्री यहाँको आवश्यकता तथा मापदण्डमा रहेर उत्पादित हुने गरेका छन्। तसर्थ, निर्माण कार्यमा स्वदेशीे निर्माण सामग्री प्रयोग गर्दा हामीले कुनै संकोच मान्नुपर्ने अवस्था छैन।’
सरकारको निर्देशनले पनि निर्माण कम्पनीहरूलाई नेपाली उत्पादन प्रयोगको लागि निर्देशित गरेको उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ–‘विदेशीको तुलनामा १५ प्रतिशत महंँगो भए पनि नेपाली नै प्रयोग गर्नुपर्ने सरकारको निर्देशन छ।’
महासचिव देउजाले महासंघ नेपाली उद्योग मौलाएको देख्न चाहने बताउँदै नेपाली सिमेन्टमा उद्योग यहाँको ८० प्रतिशत माग पूर्ति गर्न सक्षम भइसक्यो। त्यस्तै क्लिंकरमा हामी ६०–७० प्रतिशत आत्मनिर्भर बनिसक्यो। अब सरकारले यस उद्योगलाई पूर्णरूपमा सक्षम बनाउने कार्यक्रम अगाडि सार्नुपर्छ।’ देउजाका अनुसार निर्माण व्यवसायीले पूर्ण रूपमै स्वदेशी उत्पादन प्रयोग गर्ने गरेका छन् तर वैदेशिक लगानी तथा ग्रान्टमा निर्माण हुने ठूला परियोजनामा भने विदेशी सामग्री प्रयोग हुने गरेका छन्। यसमा सरकारले भन्सार सुविधा दिएर सहयोग गरेको छ। ती परियोजनामा मजदूरदेखि कच्चा पदार्थसमेत उतैबाट ल्याउने सम्झौता गरिएको हुन्छ। महासचिव देउजाले यो काम यहाँका उद्योगको हित विपरित रहेको बताउनुभयो। तसर्थ, अर्थ मन्त्रालयले यसमा आवश्यक सामग्री नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने अडान लिए नेपाली सिमेन्ट तथा डन्डी उद्योग प्रवद्र्धनमा टेवा पुग्ने उहाँको धारण छ।
‘ठूला परियोजनामा
पनि नेपाली सामग्री नै प्रयोग होउन्। साथै नेपाली उत्पादनलाई थप गुणस्तरीय बनाउन सरकारी पक्षले नियमित अनुगमन गरोस् तथा ती उद्योग प्रवद्र्धनमा उल्लेख्य सहयोग पुर्याओस्।’ देउजाले थप्नुभयो। निर्माण क्षेत्रलाई निर्माण समयमा कुन गुणस्तरको बनाउने भनेर इस्पेसिफिकेसन तोकेको हुन्छ र व्यवसायीले त्यही निर्देशिकभित्र रहेर काम गर्नुपर्ने हुन्छ। त्यसमा कुन ग्रेडको सिमेन्ट तथा डन्डी प्रयोग गर्ने भनेर तोकिएको हुन्छ। साथै कुन स्ट्रेन्थको रिजल्ट निकाल्ने पनि त्यसैमा उल्लेख गरिएको हुन्छ। स्ट्रेन्थ भनेको सिमेन्ट, बालुवा छड मिसाएर तयार पारिएको कंक्रिटको विभिन्न अवधिमा टेस्ट गरेर नापिने क्षमता हो।
कहिलेकाही म्यानुफ्याक्चरिङ डिफेक्ट हुँदा निर्माण व्यवसायीले समस्या भोग्नुपरेको छ। कम्पुटराइज्ड प्रविधिको प्रयोगले यसलाई न्यूनीकरण गर्न सहयोग गरे पनि प्रायः लोडसेडिङले गर्दा समस्या निम्तिने गर्छ। सिमेन्टको केसमा फाइननेस बिग्रिन्छ भने डन्डीको डक्टिलिटीमा असर पर्न जान्छ। तर लोडसेडिङ अन्त्य घोषणासँगै नेपाली उद्योगले पर्याप्त पावर पाइरहेका छन्। उनीहरू फुल फेजमा चलेसँगै उनीहरूको उत्पादकत्व क्षमता झन् बढेको छ।
निर्माण उद्योगको कच्चा पदार्थ भनेको सिमेन्ट तथा डन्डी उद्योगका उत्पादन नै हुन्। निर्माण कार्यको गुणस्तर मेन्टेन गर्न कच्चा पदार्थको गुणस्तर मेन्टेन गर्न जरुरी हुन्छ। यो कुरामा सरकारी निकायले नै अनुगमन गर्नुपर्ने हुन्छ। किनकि ती उद्योगले नै निर्माणको क्वालिटी निर्धारण गरेका हुन्छन्।
‘अहिलेको अवस्थामा ती उद्योगले हामीलाई राम्रै सहयोग गरेका छन्। तर, सरकारी स्तरबाट नै गुणस्तर मेन्टेन गर्न सहयोग पुर्याउनुपर्छ।’ देउजाको भनाइ थियो। उदाहरणका लागि अचानक पावर कट लगायतका समस्या हल गर्न सरकारी पक्षले सहयोग गर्नुपर्ने उहाँको माग छ। यी कुरालाई समय–समयमा अनुगमन कार्य कार्यान्वयन गर्न जरुरी रहेको उहाँ औंल्याउनुहन्छ। ‘यदी यस सम्बन्धी नीति कार्यान्वयन भए हामी निर्माण व्यवसायी तथा निर्माण सामग्री व्यवसायी दुबैलाई हौसला मिल्ने थियो।’ महासचिव देउजाले भन्नुभयो।
निर्माण व्यवसायीलाई परेको अर्को समस्या भनेको नेपालमा स्टोरेज गर्न स्थान छैन। फ्याक्ट्रीमा डन्डी उत्पादन भएर डिपोमा आउँछ। तर डिपोवालाले त्यसलाई बाहिर हावामै राखिदिन्छन्। सिमेन्टमा पनि त्यस्तै छ, सोझै चिसो भुईंमा राखिन्छ। यसले गर्दा डन्डीमा खिया लाग्ने हुन्छ, सिमेन्ट ढिक्का बन्छ। फ्रेस सिमेन्ट र ६–७ दिन राखेको सिमेन्टमा फरक पर्छ। तर, अहिले मोइस्चर प्रुफ बोरामा प्याक हुन थालेको छ। डन्डीमा पनि यस्तै भइदिए राम्रो हुने देउजाको भनाइ छ। गुणस्तर भनेको प्याकेजिङ, ह्यान्डलिङ तथा स्टोरेजमा फरक पर्ने कुरा हो। यस विषयमा निर्माण सामग्री उत्पादकहरूले पनि ध्यान पुर्याइदिए आभारी हुने थियौं।’ देउजाले थप्नुभयो।
प्रतिक्रिया