क्यानभासमा ग्रामीण परिवेश


चिरञ्जीवी मास्के, दोलखा

दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर १ साउटोल, गैरीमुदीमा शनिवार छुट्टै रौनक थियो । टहराको भिक्ता, बारीको कान्ला, रुखको फेद जताततै क्यान्भासमा कोरिएको चित्र झुण्डिएको थियो ।

स्थानिय सिता श्रेष्ठले क्यानभासमा कोरिएको एउटा चित्र देखाउदै भनिन्– यो मेरो घर हो । कतिराम्रो चित्र मेरो घर टपक्क टिपेर क्यान्भासमा राखेको जस्तो – सिताले खुशीहुदै भनिन् ।

आफ्नो घरको चित्र बनाउने नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका विद्यार्थी धादिङका रुद्रप्रताप अधिकारीलाई धन्यवाद दिईन सिताले ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा हिमालयन कला तथा संस्कृति फाउण्डेशनले साउटोलमा सञ्चालन गरेको एक हप्ते चित्रकला तालिमका सहभागिहरुले बनाएको चित्रले गैरीमुदीमा कला पर्यटनको संभावनालाई बल पुगेको छ । तालिममा स्थानिय तीन विद्यालयका ३० जना विद्यार्थी र दुई जना शिक्षकको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष उमेश श्रेष्ठले बताए ।

तालिमका सहभागि स्थानिय विष्णु माविमा कक्षा १० मा अध्यनरत भावक घतानी चित्रकला तालिमले स्वचाई फराकिलो बनाएको बताए । उनले भने – हातमा कुचि लिएर चित्र कोर्दा लाग्यो मैले आफ्नो भविष्य कोरिरहेको छु ।

तालिमका सहभागि कक्षा ९ मा अध्यनरत १४ बर्षिय जियाङ तमाङ पनि भविष्य सम्झेर उत्साहित भएका छन् । भन्छन् – चित्रकला तालिमले भविष्यको गोरेटो बनाउने कुरामा निक्कै सहयोग मिलेको छ । भविष्यमा चित्रकार नबने पनि तालिमले स्वचाईलाई फराकिलो बनाएको र हरेक चिजलाई वस्तुगत ढङ्गले हेर्न सिकाएको जियाङले बताए ।

तालिममा सहभागि विद्यार्थीहरुले प्रकृति, प्रवृत्ति र पर्यटनलाई केन्द्रमा राखेर बिभिन्न प्रकारको चित्र बनाएका थिए । तालिम अवधिमा अतिथिको रुपमा रहेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चन्दा श्रेष्ठ, मिथिलादेवी यादव, चित्रकार राजमान मर्हजन, मन गोल्डी, सुरक्षा वाग्ले र रुद्रप्रताप अधिकारीले संस्कार संस्कृति, ग्रामीण परिवेश, प्रकृति लगाएतको चित्रकला प्रस्तुत गरेका थिए ।

तालिममा पोट्रेड, ल्याण्ड स्केप, कल्चर हेरिटेज, मिथिला जस्ता कला प्रस्तुत भएको आयोजक हिमालयन कला तथा संस्कृति फाउण्डेशनका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

मलाई सानो उमेरमा कला प्रति लगाव थियो तर त्यतिबेला क्यान्भास र कुचिको कल्पना समेत गर्न सकिदैन थियो उमेशले भने – त्यसैले हामीले ग्रामीण भेगका विद्यार्थीलाई सहभागि गरेर ग्रामीण परिवेशमै यो तालिम सञ्चालन गरेका हौ ।

गैरीमुदी साउटोलमै स्थाई घर भएका उमेश श्रेष्ठ फाउण्डेशनको लागि आफ्नो केहि जमिन दिएर ग्रामीण क्षेत्रमा चित्रकलालाई विस्तार गर्ने योजनामा रहेको बताउछन् ।