चार दल बैठक निष्कर्षहीन

0
Shares

बीपी साह, काठमाडौं
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा सहभागी भए निर्वाचन सार्न सकिने संकेत प्रमुख तीन दलले दिएका छन्। संविधान संशोधन अहिलेसम्म नभएको भन्दै राजपालाई पार्टी दर्ता र चुनावको तयारीका लागि दुई सातासम्म निर्वाचन सार्न सकिने प्रमुख दलका नेताहरूले आश्वासन दिएका हुन्।

शनिबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र आन्दोलनरत राजपाको बैठकमा चुनावको मिति सार्ने विषयमा प्रमुख दलहरू सकारात्मक देखिका हुन्। तर, त्यसबापत राजपाले निर्वाचनमा सहभागी हुनुपर्नेछ। बैठकमा राजपाका नेताहरूले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राखेपछि विनानिष्कर्ष बैठक सकिएको छ।

बैठकको शुरूमा प्रधानमन्त्री प्रचण्डले राजपाका नेताहरूलाई आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका नेताहरूले पनि राजपाका नेताहरूलाई निर्वाचनलाई आन्दोलनका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको थियो।

बैठकमा सहभागी राजपाका नेता शरत्सिंह भण्डारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बैठकमा उहाँहरूले निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो। पुरानै कुराहरू उहाँहरूले दोहोर्याउनुभयो। हामीले पनि हाम्रो अडान राख्यौं।’

भण्डारीका अनुसार संविधान संशोधनप्रति प्रमुख दल सकारात्मक नभएकाले बैठकमा कुनै निष्कर्ष आएन।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले राजपा निर्वाचनमा सहभागी हुने निश्चित भए आफूहरू निर्वाचन केही दिनका लागि सार्न तयार रहेको बताउनुभएको थियो। तर एमाले नेताहरूले राजपाको सहमति माग गरेका थिए। बैठकमा एमाले नेताहरूले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पहल गर्ने र त्यसबापत राजपा निर्वाचनमा आउने सुनिश्चित गरे मात्र निर्वाचन सार्न सकिने बताएका थिए। शनिबारको बैठकमा एमाले नेताहरू केही लचक देखिएका थिए। ‘बैठकमा उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएन। हाम्रा अन्य माग पूरा गर्ने विषयमा कुरा गर्नुभएन। हामीलाई मात्र पार्टी दर्ता र चुनाव चिन्हको कुरा गर्नुभयो’, बैठकमा सहभागी राजपाका नेता अनिल झाले भन्नुभयो– ‘उहाँहरू निर्वाचनको मिति सार्न तयार देखिनुभयो। तर संविधान संशोधन गर्न चाहेको जस्तो देखिनुभएन।’

बैठकमा तीनै दलका नेताहरूले निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको भण्डारीले बताउनुभयो। तर निर्वाचनअघि संविधान संशोधन नभए आफूहरू निर्वाचनमा सहभागी नहुने राजपाले अडान राखेको उहाँले बताउनुभयो।

बैठकको अन्त्यमा नेताहरूले प्रमुख तीन दलबीच छलफल गरेर पुनः राजपासँग छलफल गर्ने बताउनुभएको थियो। देउवाले राजपासँग छलफलका लागि केही समय अझै माग गर्नुभएको थियो। बैठक शुरू भएको एक घण्टामै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बाहिरिनुभएको थियो। अन्य नेताहरूबीच छलफल भए पनि निष्कर्षमा भने पुग्न सकेन। पुनः केही दिनभित्रै अर्को बैठक बस्ने जनाइएको छ।