विदेशबाट फर्किएर भैंसीपालन



सलिम अन्सारी, प्युठान

७ वर्ष कतार, ३ वर्ष साउदीमा र १६ महिना माल्दिप्स्मा काम गरेर घर फकिर्एका प्युठान बाङेसाल–४ का मुस्लिम युवा ३५ वर्षीय सलामत मियाँ व्यावसायिक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

उनले झन्डै १० लाख रुपियाँ लगानी गरेर ‘समिला भैंसी फार्म’ दर्ता गरी छन्। विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जीविकोपार्जन गर्न सकिने सम्भावना देखेर व्यावसायिक रूपमै भैंसीपालन शुरू गरेको उनले बताए।

उनले सबै रकम बैंकबाट ऋण गरी लगानी गरेको बताए। ३ वटा भैंसी किनेर व्यवसाय शुरू गरेका मियाँको फार्ममा अहिले ७ वटा भैंसी पुगेका छन्।२ वटा मुर्रा र ५ वटा दोकल्ला जातको भैंसी रहेको फर्ममा २ वटा पाडापाडी छन्। व्यावसायिक भैंसीपालनबाट हौसिएका मियाँ सरोकारवालाको सहयोग पाएमा अझै ३ वटा भैंसी थप्ने सोचमा छन्।

दूध बिक्रीबाट मासिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको मियाँ बताउँछन्। विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै भैंसी पाल्न थालेको मियाँको भनाइ छ। ‘दैनिक ४० लिटर दूध उत्पादन हुन्छ,’ उनले भने–‘मैले मागअनुसार दूध पुर्याउन सकेको छैन।’ ७ वटै भैंसी दुहुना रहेका छन्।

भैंसीको दूध खोज्ने ग्राहक धेरै भएकाले बजारको समेत समस्या नभएको उनको भनाइ छ। अहिले बजारमा ५५ रुपियाँ प्रतिलिटरमा दूध बिक्री हुने गरेको जानकारी दिँदै मियाँले मागअनुसार दूध पुर्याउन पनि कठिन भइरहेको बताए। ‘उत्पादित दूधभन्दा माग दोब्बर छ।’ उनले भने–‘केही समय अघिदेखि शुरू गरिएको भैंसीपालन फर्मबाट दैनिक १ हजार ६ सय रुपियाँ आम्दानी गर्दै आएको उनले बताए।

खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यावसायिक भैंसी पालनमा हात हालेको कृषक मियाँले बताए। परिवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने मियाँको बुझाइ छ।

आफूलाई यस व्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए। भैंसी खरिद, गोठ व्यवस्थापन र इनार खन्नका लागि ऋण खोजेर फार्ममा लगानी गरिएको उनले बताए। उनले भैंसी गोठसमेत व्यवस्थित बनाएका छन्। गोठ सरसफाईदेखि भैंसीलाई घाँस, दाना र पानी खुवाउने काममा आफूलाई परिवारले साथ दिने गरेको बताए।

जिल्ला पशुसेवा कार्यालयले एक थान घाँस काट्ने मेसिन उपलब्ध गराएको छ। साथै भैंसी स्वस्थ बनाउन उनले आफूले पालेको भैंसीलाई नियमित खोप पनि दिने गरेका छन्। उनले भैंसी फर्मसँगै ७ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन्। गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसम अनुसारको तरकारी खेती गर्ने योजनासमेत रहेको उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्