कार्यालय भताभुङ्ग, सिंगारपटार तीव्र


नयाँ मेयरलाई कहाँ राख्ने ?

ईश्वरराज ढकाल, काठमाडौं
कार्यालय सबै भताभुङ्ग छ। कर्मचारी कहाँ बस्ने निश्चित छैन। कार्यकारी अधिकृतको सचिवालय छैन। नयाँ मेयरलाई स्वागत गर्न भ्याईनभ्याई काठमाडौं महानगरपालिकाको कार्यालयको अवस्था दयनीय छ। लाखौं रुपियाँ खर्चेर नवनिर्वाचित मेयर र उपमेयरलाई बस्ने कार्यालय बनाउन व्यस्त काठमाडौं महानगरपालिकाको दैनिक काम पूरै अस्तव्यस्त छ।

सायद आइतबार वा सोमबारमा नयाँ मेयर र उपमेयरले पदभार ग्रहण गर्ने भएकाले जेडिएको भवनको छैठौं तला पूर्णरूपमा तयार गर्न अधिकांश भाग तोडफोड गरिएको छ। नयाँ मेयरलाई बागदरबारमा राख्ने तयारी गरे पनि अन्तिम समयमा नवनिर्वाचित पदाधिकारीलाई तत्कालका लागि छैठौं तलामै राख्ने गरी कामपाले सबै कार्यकक्ष भताभुङ्ग पारेको हो।

दैनिक दर्जनौं जनता मेयर र उपमेयलाई भेट्न र बधाई दिन आउने कार्यालय छैठौं तलामा राखेपछि समस्या पर्ने कर्मचारीले नै बताएका छन्। सामान सार्ने क्रममा ओभरलोड गर्दा लिफ्टसमेत बन्द भएको सो भवनमा कसरी काम गर्ने भन्ने विषयमा कर्मचारी नै अन्योलमा परेका छन्।

‘नयाँ मेयर र उपमेयरलाई स्वागत गर्ने नाममा सबै कार्यालय नै भत्काइएको छ।’ –एक कर्मचारीले भने। कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले आफ्नो भवन भूकम्पले क्षतिग्रस्त भएकाले नयाँ मेयर र उपमेयरलाई व्यवस्थापन गर्न समस्या परेको स्विकार्नुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘तै पनि हामीले व्यवस्थापन गर्न सकेका छौं, १÷२ दिनभित्र सबै वडा अध्यक्ष, सदस्य, मेयर र उपमेयरको कार्यकक्ष व्यवस्थापन गरिसक्नेछौं।’

कामपाले अहिले कार्यकारी अधिकृतको कार्यकक्षलाई मेयरको कार्यकक्षका रूपमा निर्माण गरिरहेको छ। नजिकैको अर्को स्थानमा उपमयेर बस्नुहुनेछ। कामपाले वडा कार्यालयमा समेत रङरोगन र कार्पेटिङ गरेको छ। कामपाको बोर्ड हललाई व्यवस्थित गरिएको छ। पूरै रङरोगन गरी नयाँ कार्पेट राखिएको छ।

जेडिएको भवनमा रहेको राजस्व विभाग बागदरबारको भत्केको भवनमा स्थानान्तरण गरिएको छ। नयाँ मेयर र उपमेयर प्रवेश गर्ने भएपछि कामपाले सबै पर्खालमा रङरोगन गरिरहेको छ। चाइनिज दुबो राख्ने र फूल रोप्ने काम भइरहेको छ। ठाउँ ठाउँमा गमला राख्ने काम भइरहेको छ। मेयर–उपमेयर चढ्ने सवारी साधन मर्मत गरी तयारी हालतमा राखिएको छ।

बिदाको दिनमा समेत अधिकांश कर्मचारी काममा आइरहेका थिए। ‘बिहीबार बिदाको दिन भए पनि काम गरेका थियौं, आज शनिबार पनि काममा आउनेछौं।’ –उपनिर्देशक सुमन अधिकारीले भन्नुभयो।

कामपाले सबै वडा कार्यालयमा कुर्सी र टेबल राखिसकेको छ। मेयर र उपमेयरका लागि कुर्सी र टेबल खरिद गरिसकेको छ। ‘हामीले सबै तयारी गरेका छौं, पदाधिकारी आउनासाथ कुनै पनि काममा समस्या पर्न दिँदैनौं।’ –कार्यकारी अधिकृत पौडेलले भन्नुभयो।

करिब ५ वर्षदेखि एमालेको तर्फबाट कामपाको राजनीतिक संयन्त्रमा बसिसकेका विद्यासुन्दर शाक्य मेयर हुने लगभग पक्का भइसकेको छ। कामपाको विषयमा जानकार मेयर आउने पक्कापक्की भएपछि कर्मचारीहरू केही सहज हुने विश्वास गर्न थालेका छन्।

नेपाली कांग्रेसका राजुराज जोशीले जित्नुभएको भए उहाँलाई कामपाको बारेमा जानकारी लिन केही समय लाग्थ्यो। ‘शाक्यलाई सबै विषयमा जानकारी छ। अधिकांश कर्मचारीको फोन नम्बरसमेत उहाँसँग रहेको छ’ –एक कर्मचारीले भने।