गगनले स्वास्थ्यमा के गरे ?


काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएलगत्तै मन्त्रिपरिषद् भंग भएको छ। सरकारका एक मन्त्री गगनकुमार थापा जसले स्वास्थ्यमन्त्रीको रूपमा करिब ९ महिना पदमा बसेर काम गरे। उनको यो अवधिमा नेपालको स्वास्थ्य क्षेत्रमा धेरै उल्लेखनीय परिवर्तनहरू आए।

स्वास्थ्य मन्त्रीको रूपमा थापाले थुप्रै नीतिगत र कार्यक्रमिक सुधार गरे। उनको कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धिहरू देखा परे।

उनको कार्यकालमा सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तीमा २ चिकित्सक, स्थानीय स्वास्थ्य संस्थासम्म निःशुल्क औषधि र उपकरणको व्यवस्था गरिएको छ। अस्पतालमा ओपीडी सेवाको समय बढाइएको छ। सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको छ। डायलेसिस सेवासँगै बाथ, मुटुरोग, मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ। महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिएको छ।

नेपालगन्ज र जनकपुरमा मुटुरोग र नेपालगन्जमा क्यान्सर उपचार विस्तार गरिएको छ। सबै नेपालीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन ‘स्वास्थ्य बीमा विधेयक’ र समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर बनेको ‘राष्ट्रिय स्वास्थ्य विधेयक’ मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद्मा पेस हुने चरणमा छ भने ‘प्रजनन स्वास्थ्य विधेयक’ अन्तिम चरणमा छ।

स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरणलाई एकीकृतरूपमा विकास गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अगाडि बढाइएको छ। सेवाका आधारमा अस्पतालको वर्गीकरण गरी संघीय संरचनाअनुरूप प्रत्येक स्थानीय तहमा एक प्राथमिक अस्पताल हुने गरी प्रादेशिक र संघीय तहमा स्वास्थ्य सेवा र संरचनासहितको मापदण्ड स्वीकृत गरिएको छ। यस वर्षलाई ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानलाई राष्ट्रिय अभियानको रूपमा शुरू गरे।

त्यस्तै मुटु, मृगौला, क्यान्सर, पार्केन्सन, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल कर्ड इन्जुरी, सिकलसेल एनिमिया, मस्तिष्कघात, कलेजो, फोक्सो र थाल्सेमियर गरी १२ वटा प्राणघातक रोगहरूको उपचारका लागि १ लाखसम्मको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ। साथै सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा सञ्चालन भइरहेको छ र यो कार्यक्रमलाई क्रमशः देशभरि सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।