जिल्ला प्रहरी कार्यालयमै खानेपानीको हाहाकार


जुम्ला, १० जेठ । ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ ।

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २०० को सङ्ख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानी जुगाड गर्ने पहलले सार्थकता नपाएकाले सिङ्गो प्रहरी सङ्गठन समस्यामा परेको प्रहरी निरीक्षक मुकुन्द रिजालले दुखेसो गर्नुभयो ।

“यो समस्या समाधानका लागि हामीले जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयमा पनि अनुरोध ग¥यौँ, तर पनि प्रहरीमा खानेपानीको व्यवस्था हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

प्रहरी निरीक्षक कलेन्द्र शाहीले धारामा पानी अनियमित हुँदा दुई किलोमिटर टाढा कर्णाली प्राविधिक शिक्षालय जुम्लानजिक गाडी लिएर दैनिक पानी ल्याउने गरेको बताउनुभयो । “पानीका लागि खानेपानी कार्यालयबाट एक क्वाइल पाइप उपलब्ध भयो तर पाइप जोडेर प्रहरी कार्यालयभित्र ल्याउन सकिने अवस्था हुन सकेन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले जुनियर अफिसियलसहित सबै प्रहरी जवान लुगा धुन र सरसफाइका लािग तिलानदीमा जान बाध्य छन् । प्यास लागेपनि सोचेको बेला पानी पिउन नपाउँदा सकस परेको विभिन्न मुद्दाको आरोपमा बन्दी जीवन जिउँदै गरेका आरोपितहरु बताउँछन् ।