अर्घाखाँचीमा दलहरूले लगाए उम्मेदवारको टुंगो


शोभाखर पन्थी, अर्घाखाँची
दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने अर्घाखाँची जिल्लामा राजनीतिक दलहरूले उम्मेदवारहरूको टुंगो लगाएका छन। एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले यस अघिने उम्मेदवारहरूको निर्णय गरेको थियो भने नेपाली कांग्रेस र नयाँ शक्तिले मंगलबार मात्र उम्मेदवारको टुंगो लगाएको हो।

६ गाँउपालिका रहेको अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुनेछ। तर कुनैकुनै ठाउँमा नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा पनि बलियो छ।

अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो। यो नगरपालिकामा कांग्रेसबाट मेयरमा कमलप्रसाद भुसाललाई उम्मेदवार बनाएको छ। उपमेयरमा भने पछि निर्णय गर्ने कांग्रेसका क्षेत्रीय सभापति केशबराज कुवरले बताउनुभयो। एमालेले मेयरमा कृष्णप्रसाद श्रेष्ठ र उपमेयरमा इश्वरा पोख्रेललाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले मेयरमा ठाकुर विक र उपमेयरमा कमला भुसाललाई उम्मेदवार बनाएको छ। नयाँ शक्तिले मेयरमा यमुना भुसाल र उप मेयरमा टोपबहादुर बलाल, राष्ट्रिय जनमोर्चाले मेयरमा कल्पना पोख्रेल र उपमेयरमा पशुपति ढकाललाई उम्मेदवार बनाएको छ।

जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो। यहाँ कांग्रेसबाट मेयरमा सूर्य अधिकारी, उपमेयरमा मिना पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताउनुभयो। एमालेबाट मेयरमा बसन्त श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेदवार बन्ने निर्णय भएको एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो। माओवादीले मेयरमा टिका रेस्मी र उपमेयरमा सीता अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
अर्को नगरपालिका भूमिकास्थान हो। यहाँ कांग्रेसबाट मेयरमा खडानन्द बेल्वासे र उपमेयरमा सृजना थापा उम्मेदवार बन्ने भएका छन्। एमालेबाट मेयरमा पिताम्बर भुसाल, र उपमेयरमा सुनिता बेल्बासेलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। माओवादीबाट मेयरमा रेशम थापा र उपमेयरमा छमकुमारी खनाल र राष्ट्रिय जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला थापा उम्मेदवार बनेका छन्। नयाँ शक्तिबाट प्रेम बन्जाडे मेयरको उम्मेदवार बनेका छन्।

पाणिनी गाँउपालिकामा कांग्रेसबाट अच्युत गौतम र उप प्रमुखमा अम्बिका पोख्रेल, एमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतमलाई उठाउने निर्णय गरिएको छ। माओवादीवाट प्रमुखमा जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरेलाई उठाउने निर्णय गरेको माओवादीका जिल्ला संयोजक ठाकुर विकले बताउनुभयो।

छत्रदेव गाँउ पालिकामा कांग्रेसबाट प्रमुखमा लेखनाथ पोख्रेल, उपप्रमुखमा तुलसादेवी श्रेष्ठ , एमालेबाट प्रमुखमा रिऋ अधिकारी र उपप्रमुख मनिषा पन्थी , माओवादीबाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा सारदा रायमाझीलाई उठाउने भएको छ। मालारानी गाँउपालिकामा कांग्रेसबाट प्रमुखमा विष्णु क्षेत्री, उपप्रमुखमा शान्ता खनाल, एमालेबाट प्रमुखमा बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री, माओवादीबाट प्रमुख पदम क्षेत्री उम्मेदवार बन्ने भएका छन्।