चाँगुनारायण नगरपालिकाको मतगणना अझै अलपत्र


भक्तपुर, (नेस)
चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनः सञ्चालन गर्न मंगलबार दुई पटक बसेको सर्वपक्षीय बैठक बिनानिष्कर्षमा टु·िएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा
परेको छ।

निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना प्रक्रिया पुनः सञ्चालन गर्नका लागि दिउँसो र साँझ गरी दुई पटक बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि अझै मतगणना शुरू हुन नसकेको हो।

प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमु जिल्ला अधिकारी द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा दुई पटक लामो छलफल भए पनि सहमति नभएको कार्यालयले जनाएको छ।

निर्वाचन आयोगले सोमबार साँझ वडा नम्बर १ र २ का हकमा पुनः मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनः मतगणना गर्न सकिने भन्दै पत्र पठाएको थियो।

एमालेबाहेकका दलले वडा नम्बर ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै मागमा अडान लिएको र एमालेले पुनः मतगणना गर्दा वडा नम्बर १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि छलफल निष्कर्षमा नपुगेको दलका नेताले जानकारी दिएका छन्। प्रजिअ पोखरेलले दलबीच सहमतिको प्रयास जारी रहेको र छिटै छलफल गरी निकास निकाल्ने प्रयास भइरहेको बताउनुभयो।