बेलिब्रिज झिकेपछि खोटाङ र पुर्वी शहरको यातायात पुर्ण रुपमा बन्द


रामधन राई,खोटाङ
वर्षाका कारण पानीको बहाव बढ्न थालेसँगै सुनकोसी नदीस्थित अस्थायी बेलिब्रिज झिकिएपछि खोटाङ र पुर्वी शहरको सिधा यातायात ६ महिनाका लागि पुर्ण रुपमा बन्द भएको छ ।

खोटाङको लिच्कीराम्चे र उदयपुरको फोक्सिङटार बीचमा पर्ने सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज झिकिएपछि सोमबारदेखि आगामी मंसिरसम्मको लागि सिधा यातायात बन्द भएको हो ।

बेलिब्रिज हटाइएसँगै दिक्तेलबाट बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेलबाट गाईघाट हँुदै बिराटनगर लगायतका शहर जाने सवारी साधन छुट्न छाड्दा यात्रुलाई सास्ती हुन थालेको खोटाङ यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

२०५१ सालमा निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण भइनसक्दा यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष वर्षायाममा कष्ट भोग्दै आउनु परेको छ ।

आगामी मंसिरमा पुनः बेलिब्रिज राखिने गाईघाट–दिक्तेल सडक कार्यालयका इन्जिनियर कमलप्रसाद यादवले जानकारी दिनुभयो ।