चाँगुमा मतगणना अवरुद्ध विवाद नमिलेपछि आयोगलाई पत्राचार


नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको दुई दिन बितिसक्दा पनि सहमति नभएपछि आइतबार पनि मतगणना हुन सकेन। सर्वपक्षीय छलफलमा सहभागी हुनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पुनः मतगणना गर्नका लागि बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि मतगणना शुरू हुन नसकेको जानकारी दिनुभयो।

चाँगुनारायण नगरपालिकाका सहायक निर्वाचन अधिकृत राजेन्द्र वाग्लेले मतपरिणाम घोषणा भइसकेका वडाका हकमा पुनः मतगणना गर्ने व्यवस्था कानुनमा नभएकाले त्यसका लागि अदालत जानुपर्ने बताउनुभयो।

लामो छलफलपछि दलहरूबीच सहमति नभएपछि निर्वाचन आयोगलाई लेखी पठाउने र आयोगको निर्देशनअनुसार अगाडि बढ्ने दलहरूबीच सहमति भएपछि आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत् पत्राचार गरेको उहाँले जानकारी दिनुभयो। आइतबार सहमति गरेर मतगणना शुरू गर्नका लागि सर्वपक्षीय बैठक बसेपछि नेपाली कांग्रेस र एमालेको विवादका कारण मतगणना शुरू हुन सकेन।

आइतबार बिहान चाँगुनारायण नगरपालिका वडा नम्बर ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो। अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणनास्थलमा शिलबन्दी गरिएको छ।

चाँगुनारायण नगरपालिकाका वडा नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक गरेको केही बेरमा वडा नम्बर ४ को मतगणना सम्पन्न गरी मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नगरेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणनासमेत रोकिएको हो।

दलहरूबीच छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगलाई समस्याका बारेमा लेखी पठाउने र निर्वाचन आयोगका निर्देशनअनुसार कार्य गर्नका लागि भने दलहरू सहमति भएकाले आयोगलाई पत्राचार गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

नेपाली कांग्रेस चाँगुनारायण नगरपालिकाको २ र ३ नम्बर वडाको मात्र पुनः मतगणना गर्नुपर्ने माग राखेको तर एमालेले आफ्नो पार्टीलाई मात्रै लक्षित गरेकाले कांग्रेस विजयी भइसकेको वडा नम्बर १ देखि ४ सम्म नै मतगणना गर्नुपर्ने माग गरेको बैठकका सहभागीले जानकारी दिएका छन्। मतगणनाको पर्खाइमा बसेका मतदाताले भने मतगणनास्थल अगाडि आइतबार दिनभर धर्ना दिएर जनताको मतको कदर गर्न र तत्काल मतगणना गर्न माग गर्दै नाराबाजी गरेका थिए।