पत्रकार महासंघ काभ्रेमा तिमल्सिना


नेपाल समाचारपत्र
काभ्रे
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १०औं जिल्ला अधिवेशनबाट नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका काभ्रे संवाददाता मोतीराम तिमल्सिना अध्यक्ष पदमो विजयी हुनुभएको छ।

तिमल्सिना १ सय ४९ मतमा ८५ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी बद्रीराज तिमल्सिनाले ५४ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै उपाध्यक्षमा रमेशप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा राज्यलक्ष्मी श्रेष्ठ, सचिवमा नगेन्द्र अधिकारी, कोषाध्यक्ष कपिल कोइराला, सहसचिव मधुसुदन तिमल्सिना विजयी भएका छन्।

समावेशी सचिवतर्फ राम दनुवार निर्विरोध भएका छन्। कार्यसमिति सदस्यमा देवराज केसी, सम्झना हुमागाईं, सन्तोष दाहाल, सरोज अधिकारी, श्रीराम केसी विजयी भएका छन्। महिला सदस्यतर्फ सरिता सापकोटा विजयी भएकी छिन् भने विकलांगमा रामचन्द्र अधिकारी निर्विरोध भएका छन्।

प्रान्त पार्षदमा २१ जना विजयी भए भने केन्द्रीय पार्षद १६ मा चार जना महिला निर्विरोध निर्वाचित भए। त्यसै गरी, केन्द्रीय पार्षदमा रामकृष्ण चापागाईंसहित १२ जना निर्वाचित भएका छन्।

अधिवेशनको बन्द शत्रमा केन्द्रीय प्रतिनिधि दीपक पाण्डेले निर्वाचन कार्यक्रममा सहजीकरण गर्नुभएको थियो। पत्रकार राजाराम कार्कीको संयोजकत्वमा गठित निर्वाचन समितिमा सुरेश हुमागाईं पत्रकार, अधिवक्ता कृष्णप्यारी नकर्मी सदस्य रहेका थिए। निर्वाचित पदाधिकारी तथा पार्षदहरूलाई आइतबारै पदभारको जिम्मेवारी हस्तान्तरण गरियो।

सोही अवसरमा विजेता र उपविजेताले एकसाथ मिलेर पत्रकारको उत्थान र सहजीकरणका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए।