चाँगुनारायणको मतगणना विवाद मिलाउन आज फेरि छलफल सुरु


पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना विवाद मिलाउन आज फेरि छलफल सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले मतगणना रोकिएकाले छलफल र सहमतिबाटै समस्याको समाधान निकालेर पुन ः मतगणना सुरु गर्नका लागि सर्वपक्षित बैठक आव्हान गरेको बताउनुभयो ।

नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र राप्रपाले ३ र ४ नम्बर वडाको मतगणनामा धाँदली भएको भन्दै विरोध गरेपछि हिजोदेखि मतगणना स्थगित भएको छ ।

मतगणना अघि बढाउन छलफलका लागि प्रशासनले पटक पटक बोलाउँदा पनि कांग्रेस, नेपाल मजदुर किसान पार्टी र राप्रपा छलफलमा गएका थिएनन् ।

उनीहरुले मतगणनामा बस्ने कर्मचारी परिवर्तन गर्न र १, २, ३ र ४ मा पुन मतगणना गर्न माग गरेका छन् । एमालेले भने मतगणनामा धाँदली नभएको बताएको छ ।
९ वटा वडा रहेको चाँगुनारायणका १, २, ३ र ४ मा मतगणना सकिएको छ ।

यसमध्ये १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ भने ३ नं वडामा एमाले विजयी भएको छ । ४ को मतगणना सकिएपनि विरोधका कारण घोषणा भने हुनसकेको छैन ।

दिउँसो पटक पटक मतगणना सुचारु गर्नेबारेमा दलहरु बिच भएको छलफल टुङ्गोमा नपुगेपछि साँझ मतगणना स्थलमा शिलबन्दी गरि मतपत्र सुरक्षित राखिएको थियो ।

मत पेटिका र मतपत्र रहेको कक्षमा गरेको शिलबन्दी सहमति बिना नतोड्न ती दलहरुले सचेत गराएका छन् ।

मेयरका उम्मेदवारहरु नेपाली काँग्रेसका राजाराम खड्का, नेमकिपाका न्हुच्छेभक्त फोजू, राप्रपाका रबिन्द्रप्रताप शाह, नेकपा (माओवादी केन्द्र) का होमनाथ लामिछाने र नयाँ शक्तिका कान्छा तामाङ्गले संयुक्त विज्ञप्ती जारी गर्दै चाँगुनारायण नगरपालिका वडा नं. १, २, ३ र ४ को पुन ः मतगणना गर्नुपर्ने माग गरेका छन् ।