निर्वाचित महानगरको मेयरलाई वागदरबारमा


ईश्वरराज ढकाल,काठमाडौं ।
काठमाडौं महानगरपालिकाले नवनिर्वाचित मेयर र उपमेयरलाई वागदरबारमै राख्ने भएको छ ।
भुकम्पले क्षतिग्रस्त वागदरबारलाई मर्मत गरी नवनिर्वाचितमेयर र उपममेयरको कार्यालय निर्माण गर्ने भएको हो।

दुई वर्ष अघि २०७२ बैशाख १२ गतेको भुकम्पले काठमाडौं महानगरपालिका भवन क्षतिग्रस्त भएको थियो । त्यस लगत्तै राष्ट्रिय सभागृहमा सरेको कामपा करिब ७ महिनापछि सुन्धारा स्थित जेडिए भवनमा सरको थियो ।

पहिलो चरणमा मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यालय व्यवस्थापन गरेपछि सबै विभाग, महाशाखा र शाखा स्थानान्तरण गर्ने गरी काम शुरु गरिएको छ । कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अस्ति शुक्रबार प्राविधिक टोलीले निरीक्षण गरेको र निरीक्षण प्रतिवेदनको आधारमा भुकम्पले क्षति नपुगेको स्थानमा कार्यालय स्थापना गर्ने तयारी भएको जानकारी दिनुभयो ।

‘हामी २४ घण्टा काम गरेर एक हप्ता भित्र मेयर , उपमेयर र कार्यकारीको कार्यकक्ष तयार गर्नेछौ–उहाले भन्नुभयो । काम शुरु गरिसहेका छौ, करिब एक साताभित्र मेयर र उपमेयरलाई वागदरबामै राख्नेछौ ।

कार्यालय सरेको करिब ६ महिनाभित्र वागदरबारको अन्य क्षेत्रमा प्रिफाइब भवन बनाएर सबै कार्यालय सार्नेछौ । सबै भवन क्षतिग्रस्त नभएकोले मर्मत गरी काम चलाउन लागिएको जानकारी गराउदै कार्यकारी अधिकृत पौडेलले क्षतिग्रस्त भएको स्थानमा डेन्जर जोन राखेर व्यवस्थापन गर्नेछौ भन्नुभयो ।

कामपाले पुरानो मेयरको कार्यकक्षम मेयर, उपमेयरको कार्यकक्षमा उपमेयर र अन्तराष्ट्रिय सम्बन्ध शाखा रहेको कार्यकक्षमा कार्यकारी अधिकृतको कार्यालय रहनेगरी व्यवस्थापन गर्न लागेको छ ।

पुरातत्व विभागले वागदरबारलाई रेक्टोफिट गर्ने कि पुर्ण रुपमा भत्काउने भन्ने विषयमा निर्णय गर्न लागेको अवस्थामा कामपाले कार्यालय स्थापना गर्न लागेको हो । सरकारले भने सो दरबारलाई भत्काउने तयारी गरिरहेको छ ।

अघिल्ला मेयर र उपमेयरको कार्यकक्ष बसेकै स्थानमा मेयर र उपमेयरलाई राख्ने गरी काम शुरु भैरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । अहिले संचालन भएको कार्यालयबाट सेवाग्राहीलाई काम गर्न समसया भएको गुनासो बढेपछि बागदरबारकै कार्यालय स्थापना गर्न लागेका हौ–उहाको भनाई थियो ।

वागदरबारका कानुन, नक्सा, विपद् व्यवस्थापन र शहरी सुव्यवस्थापन विभाग रहेका छन् । मेयर र उपमेयरको कार्यालय रहने भएपछि नक्सा बाहेक तीनैवटा विभागलाई तत्कालका लागि जेडिए भवनमै स्थानान्तरण गर्ने तयारी भैरहेको छ ।

सबै तयारी भएर आज आइतबारबाट काम शुरु गर्नेछौ–कामपाका उपनिर्देशक सुमन अधिकारीले भन्नुभयो । सबै निर्णय भैसकेको छ, आजैबाट काम शुरु गरेर एकसातामा सम्पन्न गर्नेछौ उहाको भनाई थियो ।
यस्तै कामपाले मेयर र उपमेयर चढ्ने दुईवटा सवारी साधन खरिद गर्न टेण्डर आब्हान गरेको छ । मेयरको लागि करिब एक करोड र उपमयेरका लागि करिब ५० लाख रुपिया बराबरको टेण्डर आब्हान गरेको कामपाले जनाएको छ ।

मेयर र उपमेयर आउनासाथ नया सवारी साधन प्रयोग गर्न पाउनेछैनन । टेण्डरको प्रकृया लामो हुने भएकोले करिब तीन महिना सम्म कामपाले प्रयोग गरेको सवारी साधननै मेयर र उपमेयरले प्रयोग गर्नेछन् ।

कार्यकारी अधिकृतले प्रयोग गर्दै आएको सवारी साधन तत्कालको लागि मेयरले प्रयोग गर्ने गरी तयारी भएको छ ।