निर्वाचित हाकिम भित्र्याउन दौडधुप, खरिद प्रक्रिया हतार–हतार


कामपाले मात्रै ९० लाख रुपियाँ बराबरको फर्निचर किन्दै

ईश्वरराज ढकाल, काठमाडौं
दुई दशकपछि स्थानीय निकायमा प्रवेश गर्न लागेका नयाँ मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूको बस्ने व्यवस्थापन गर्न उपत्यकाका दुई महानगरपालिकालाई भ्याई नभ्याई छ।

काठमाडौं र ललितपुर महानगरका कार्यकारी अधिकृत नयाँ मेयरलाई भित्र्याउन अहोरात्र लागिरहेका छन्। काठमाडौं महानगरपालिकाले त करिब ९० लाख रुपियाँ बराबरको फर्निचर ल्याउन टेन्डर आह्वान गरिसकेको छ। मेयर र उपमेयर बस्ने टेबल, कार्यकक्षमा राख्ने सोफा, कुर्सी र कार्पेट, वडा अध्यक्षलाई कुर्सी र टेबल तथा वडा सदस्यलाई कुर्सी र टेबल खरिद गर्न उक्त रकम खर्च गरिनेछ। सोबाहेक कामपाले करिब ५० लाख रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ।

फर्निचरका लागि करिब ९० लाख रुपियाँ बराबरको सामान ल्याउन टेन्डर गरेको जानकारी गराउँदै खरिद एकाइ प्रमुख एवं निर्देशक दीपक अधिकारीले भन्नुभयो– ‘हतारमा निर्णय गरी खरिद प्रक्रिया अघि बढाएका हौं।’ कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले मेयरलाई स्वागत गर्ने प्रक्रिया शुरू गरिएको बताउँदै भन्नुभयो– ‘हामी तयारी गरिरहेका छौं, एक साताभित्र पूरा गरिसक्नेछौं।’

कार्यकारी अधिकृतसहितको टोलीले हिजो बिहीबार महानगरपालिकाको ७, ८, ९, १०, ११ र ३२ लगायतका वडा भ्रमण गरी वडा अध्यक्ष र सदस्यहरूका लागि आवश्यक पर्ने बैठक कक्ष, कोठालगायतका बारेमा जानकारी लिएको थियो। कार्यकारी अधिकृत पौडेलले केही वडामा कोठा अभाव भएका कारण थप कोठा निर्माण गरिने बताउनुभयो। सजिलो र सहजताका लागि तत्काल प्रिफाइबको कोठा निर्माण गरिने उहाँको भनाइ थियो।

कामपाका उपनिर्देशक सुमन अधिकारीले ९ र ११ लगायतका वडामा प्रिफाइबको कोठा बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कतै रङरोगन गरिनेछ भने कतै प्रिफाइबको कोठा बनाइनेछ।’ कामपाले दुई साताभित्र मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य बस्न र बैठक गर्नका लागि सबै व्यवस्थापन गरिसक्ने भएको छ। कामपाले अहिले भइरहेकै सवारीसाधनको व्यवस्थापन गर्ने भएको छ। ‘तत्काल कुनै पनि सवारीसाधन खरिद गर्दैनौं, भइरहेकालाई नै प्रयोग गर्नेछौं’, उहाँको भनाइ थियो– ‘मेयरले पद बहाली गरेपछि मात्रै नयाँ सवारीसाधन खरिद गर्ने विषयमा निर्णय हुन्छ होला।’

ललितपुर महानगरपालिकाले नयाँ मेयरलाई कार्यालयमा भित्र्याउन व्यापक तयारी गरिरहेको छ। वडा कार्यालय भ्रमण गर्ने, आवश्यता भएको फर्निचर खरिद गर्ने, रङ रोगन गर्नेलगायतका काम जारी राखेको महानगरपालिकाले जनाएको छ। हल सानो थियो भत्काएर ठूलो बनायौं, भएकै गाडीलाई व्यवस्थापन गरिसकेका छौं, मेयर र उपमेयरका लागि कोठा बनाइसकेका छौं’, ललितपुर उप–महानगरपालिकाका प्रवक्ता एवं वरिष्ठ इन्जिनियर रुद्र गौतमले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२० वर्षपछि आउन लाग्नुभएका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूका लागि सबै तयारी गरिसकेका छौं।’ उहाँका अनुसार स्थानीय निकायका प्रमुख आउने भएपछि सबैको ध्यान त्यतातिर गएको र व्यापक तयारीमा लागिएको उल्लेख गर्नुभयो।

यी दुई महानगरपालिकामा मात्रै होइन कि देशैभरका स्थानीय निकायका कार्यकारी अधिकृतलगायतका कर्मचारी अहिले स्थानीय निकायका पदाधिकारीलाई कार्यालय भित्र्याउने तयारी गरिरहेका छन्। स्थानीय निकायमा भएको बजेट फर्निचर र रङ रोगनका लागि खर्च गर्न थालिएको छ। चार महानगरपालिकाले त लाखौं रुपियाँ खर्च गरेर पदाधिकारीहरूको स्वागत गर्ने तयारी गरिरहेका छन्। कामपाको करिब आधा दर्जन वडाको कार्यालय नभएको अवस्थामा भाडाकै घरलाई व्यवस्थित गर्न शुरु गरिएको छ।