महानगरमा ११ स्थानबाट एकैसाथ गणना, गति केही बढ्यो


सुनील महर्जन, काठमाडौं
बढी मतदाता भएको काठमाडौं महानगरपालिकासहित चार महानगरपालिकामा ११ स्थानबाट गणना शुरु गरिए पनि मतगणनाको गति तुलनात्मकरूपमा बढेको बिहीबार पनि पाइएन।

सोमबार एक स्थानबाट शुरु भएको महानगरपालिकाको मत गणनाको काम बिहीबारबाट ११ स्थानमा विभाजन गरी गणना गरिएको हो। मतगणना ज्यादै सुस्त भएको गुनासो सबैतिरबाट आएपछि आयोगले कर्मचारीसमेत बढाएर मतगणनाको डेस्क बढाएको हो। आयोगको सो प्रतिबद्धतापछि परिणाम आउने क्रम नगन्य मात्रामा बढे पनि सुस्तता र भद्रगोल कायमै रहेको उम्मेदवारहरू बताउँछन्। डेस्क बढेसँगै सबैतिरबाट पाएको मत गन्नुप¥र्यो, टाइप गर्नुप¥र्यो र आवश्यक प्रक्रिया मिलाउन पनि काम पनि थपिएको मतगणनामा खटिएका कर्मचारीहरू बताउँछन्।

तर, निर्वाचन आयोगले दुई÷तीन दिनको तुलनामा मतगणनाको गति केही मात्रामा बढेको दाबी गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भन्नुभयो– ‘हिजो अस्तिको तुलनामा मतगणना गति बढेका छ। मिल्नेसम्म जनशक्ति थपेर मतगणना डेस्क बढाइएको छ।’

बिहीबार दिउँसोसम्म पनि महानगरपलिकाको १२ हजार बढी मत गनिएको छैन। बुधबार दिउँसोसम्म हुने झण्डै ३ हजार मत गनिएको थियो। ‘यही रफ्तारमा गन्दा पनि काठमाडौं महानगरपालिकाको झण्डै २ लाख मत गन्न अझै १९ दिन लाग्ने महानगरपालिकाका लागि मेयरका लागि नेकपा एमालेका विद्यासुन्दर शाक्यको धारणा रहेको छ। महानगरपालिकामा कुल मत १ लाख ९० हजारको हाराहारीमा खसेको छ।

ललितपुर महानगरपालिकाको अवस्था पनि काठमाडौंभन्दा भिन्न छैन। २९ वडा रहेको महानगरपालिकाको हालसम्म १२ वडासम्मको मतपरिणाम आइसकेको छ भने २०, २१ हजारको हाराहारीमा मतगणना भइसकेको छ। यही गतिमा मत गन्न हो पूरै नतिजा आउन १०÷१२ दिन लाग्ने महानगरपालिकाका लागि नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो।

महानगरपालिकाको कुल मत ८९ हजार ९ सय २९ मत खसेको थियो।‘मतगणना सुस्त भएकाले कार्यकर्ता र शुभेच्छुक असन्तुष्ट जनाएको मात्र होइन, विभिन्न उम्मेदवारका मतगणना गर्ने प्रतिनिधिसम्म हैरान र दिक्क भइसकेका छन्’ –उम्मेदवार महर्जनले भन्नुभयो। शुरुमा ६ वटा डेस्क राखेर मात्र मतगणना गरिएकोमा मतगणना सुस्त भन्ने गुनासो जताततैबाट आएपछि मतगणना डेस्क केही बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ।

त्यस्तै बढी मतदाता रहेको भरतपुर र पोखरा लेखनाथ महानगरपालिमामा मतगणना डेस्क बढाइए पनि सुस्तता कायमै रहेको छ। भरतपुर महानगरपालिकामा १ लाख १२ हजार ७ सय मत खसेको थियो। पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन्।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा प्रयोग भएका मतपत्र र मतगणना प्रक्रिया दुवै व्यवहारिक नभएको भन्दै सच्याउन सर्वसाधारणदेखि निर्वाचन पर्यवेक्षणहरूले आग्रह गर्दै आएका छन्। यसपटक मतदान र गणना दुवै प्रक्रिया जटिल भएको सर्वसाधारणको प्रतिक्रिया रहेको छ।