प्रतिबन्धित भारु राजधानीमा छइपछइप्ती


दीपक रिजाल, काठमाडौं
भारत सरकारले प्रतिबन्ध लगाएको ५ सय र १ हजार दरका ठूलो परिमाणको भारतीय रुपियाँसहित १५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

राजधानीका विभिन्न ठाउँमा प्रतिबन्धित भारतीय रुपियाँ संकलन गरी राखेको भन्ने सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले २ करोड १६ लाख भारतीय रुपियाँसहित उनीहरूलाई पक्राउ गरेको हो।

भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिएको उक्त रकम राजधानीमा संकलन गरिएको भन्ने सूचना पाएको ब्युरोले काठमाडौं महानगरपालिका ८ गौरीघाटस्थित कमला भण्डारीको कोठाबाट ९८ लाख भारतीय रुपियाँ बरामद गरेको थियो।
नेपालमा रहेको भारतीय रुपियाँ सटही गर्ने भारत सरकार र नेपाल सरकारबीच भएको सहमतिअनुसार ती नोट विभिन्न माध्यमबाट सटही गर्ने उद्देश्यले नेपाल भित्रिएको आशंका ब्युरोले गरेको छ। भारतीय तस्करहरूले आफूसँग रहेको पुरानो तर स्रोत नखुलेको उक्त रकम सटही गर्ने उद्देश्यले नेपालीलाई प्रयोग गरी नेपाल पठाएको आशंका पनि प्रहरीले गरेको छ।

ब्युरोले भण्डारीको घरमा छापा मारेर उक्त रकम बरामद गरेपछि अन्य रकमसमेत रहेको सूचनाका आधारमा तिलगंगास्थित होटल पाँचथरअगाडि पार्किङ गरिराखेको लु२च १९० को कारमा लुकाइराखेको १ करोड १९ लाख ६१ हजार प्रतिबन्धित भारतीय रुपियाँ बरामद गरेको थियो।

प्रहरीले सो घटनामा संलग्न रहेकी कमला भण्डारी, दिलिपकुमार लाल, मेघबहादुर थापा, सानुराज रञ्जित, राजकुमार गिरी, सुरेन्द्रकुमार संघाई, सञ्जयकुमार चौधरी, नवराज गुरुङ, पृथ्वी शाह, मजेन लामा, अमिरुद्दिन, पूर्णवासी गुप्ता तथा भारतीय नागरिक अंकुर अग्रवाल, दिनेश अग्रवाल र कुमार पन्सालीलाई पक्राउ गरेको छ।

उनीहरू नेपालमा बसेर यसअघि पनि नक्कली भारतीय रुपियाँको कारोबारमा संलग्न रहेका व्यक्ति हुन्। भारतीय प्रहरीको खोजीको सूचीमा रहेका उनीहरूले यसअघि पाकिस्तानी नागरिकहरूसँग मिलेर तस्करी गर्ने गरेको सो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट ५ सय दरका २६ हजार ३ सय २० थान, १ हजार दरका ८ हजार ५ सय १ थान भारतीय नोट बरामद गरेको छ। त्यस्तै प्रहरीले बा२च १९० को कार, ग२च २८१२ कार, कालो झोला ५ थान, विभिन्न कम्पनीका मोबाइल १२ थानसमेत बरामद गरेको छ।