यौन उत्पीडनविरुद्ध छात्राको अनशन


नयाँदिल्ली, (एजेन्सी)
उत्तरी भारतीय राज्य हरियाणाको एउटा विद्यालयमा नियमित रूपमा आफूहरूमाथि यौन दुव्र्यवहार भएको विरोध गर्दै १३ जना छात्राले विगत छ दिनदेखि भोक हडताल गर्दै आएका छन्।

१६ देखि १८ वर्ष उमेरका ती छात्राहरूले नजिकैको गाउँबाट विद्यालयमा आउने क्रममा बाटोमा आफूहरूलाई अश्लील हाउभाउ र शब्द प्रयोग गरी जिस्काउने गरेको गुनासो गरेका छन्। ती किशोरीहरूले रेवारी जिल्लाका स्थानीय अधिकारीहरू आफूहरूलाई सुरक्षा दिन असफल भएको बताएका छन्।

अहिले प्रहरीले तिनीहरूलाई आवश्यक सुरक्षा दिने प्रतिबद्धता जनाएको छ। सरकारले पनि लामो बाटो हिँडेर विद्यालय जान नपर्ने गरी तिनीहरूको गाउँमै उच्च माध्यमिकस्तरको विद्यालय स्थापना गरिदिने वचन दिएको छ।

खाना त्यागेर पानीमात्र खाइरहेका ती छात्राहरूले लिखित आदेशपत्र प्राप्त नभएसम्म भोक हड्ताल नतोड्ने बताएका छन्। ती सम्बन्धित छात्राका अभिभावकसमेत उक्त विरोध प्रदर्शनमा सरिक हुन थालेका छन्। ती पीडित १३ मध्ये एक शीतलले बीबीसी हिन्दीका नितिन श्रीवास्तवलाई भनेकी छिन्– ‘हरेक दिन नै हामीलाई अश्लील ढंगले जिस्क्याइने गरेको छ। के हामीले पढ्नै छाड्ने? के हामीले सपना देख्नै छोड्ने? के धनीका छोराछोरीले मात्र सपना देख्न पाइने हो?’ अर्की छात्रा सुजाताले भनिन्– ‘ती पुरुषहरूले हाम्रा शरीरमा जथाभावी छुने गर्दछन्। तिनीहरूले हाम्रा फोन नम्बर भित्तामा लेखेर जथाभावी टिप्पणी गर्ने गरेका छन्। हामीलाई हुने अन्य कतिपय व्यवहार बताउन पनि सकिन्न।’