साइबर हमलालाई चेतावनीका रुपमा लिन माइक्रोसफ्टको अपिल


वासिङटन (एजेन्सी)
माइक्रोसफ्टका प्रमुख ब्य्राड स्मिथले विश्वभरीका सरकारलाई गत शुक्रबार सुरु भएको साइबर हमलालाई चेतावनीका रुपमा लिन अपिल गरेको छ । पछिल्लो साइबर हमलाको जरा अमेरिकी राष्टिय सुरक्षा एजेन्सी (एनएसए)सँग जोडिएको समाचार अत्यन्त अचम्भित तुल्याउने खालको भएको उनले बताए । उनले साइबर हतियार प्रति आफनो नितिमा परिवर्तन ल्याउन आवश्यक भएको बताए ।

विश्वभरी १ सय ५० देशका कम्प्युटरमा शुक्रबार रेनसमवेयर भाइरसबाट आक्रमण भएको थियो । सोमबार कामदार काममा फर्कँदा पनि उनीहरुको कम्प्युटरमा रेनसमवेयरको हमला हुने खतरा रहने जनाइएको छ ।

यद्यपी कयौं कम्पनीले शनिबार र आइतबार साइबर विज्ञहरुलाई बोलाएर भाइरस निस्क्रिय गर्ने काममा लगाएका छन् । यो भाइरसले कम्प्युटरमा राखिएका फाइलमाथि नियन्त्रण गर्छ र त्यसलाई पुन प्राप्त गर्न फिरौतीको माग गर्छ । आइतबार माइक्रोसफ्टले जारी गरेको एक विज्ञप्तीमा कम्प्युटर प्रणालीमा सुरक्षासँग सम्बन्धित जानकारी राख्ने सरकारले अपनाउने प्रक्रियाको पनि आलोचना गरेको छ । विज्ञप्तीमा भनिएको छ– हामीले देख्यौं कसरी सीआइएका अतिसंवेदनशिल सुचनाहरु विकिलिक्सले चोर्यो र अहिले एनएसएबाट त्यस्तै संवेदनशिल सुचना चोरी हुनुले विश्वभरीका कम्प्युटर्स प्रभावित भएका छन् ।

यसै बर्ष अप्रिलमा ह्याकिंग समुह स्याडो ब्राकर्सले यस प्रकारको भाइरसको एउटा ठुलो अंश (डम्प) चुहावत गरेका थिए । शुक्रबार भएको साइबर हमलामा प्रयोग भएको रेनसम अर्थात फिरौती भाइरसको केहि हिस्सा चुहावत भएकोसँग मिल्दोजुल्दो पाइएको छ ।

प्रविधि वेबसाइट एआरएस टेक्निकाका अनुसार ह्याकर्स समुह स्याडो ब्रोकर्सले विगत ८ महिनादेखि एनएसएको साइबर हतियारका जानकारी लिक गर्दै आइरहेका थिए । अप्रिलमा पोस्ट गरिएको डम्पमा माइक्रोसफ्ट विन्डो कम्प्युटर र विश्वका थुप्रै बैंकमा प्रयोग हुने स्विफ्ट बैंकिंग सिस्टमलाई निसाना बनाउन सक्ने भाइरसको जानकारी थियो ।

सन् २०१४ अप्रिल ८ देखि माइक्रोसफ्टले उक्त अपरेटिंग सिस्टमका लागि सुरक्षा प्रणाली निर्माण गर्न बन्द गरिसकेको छ । कम्पनीले उक्त अपरेटिंग सिस्टमको प्रयोग गर्नेहरुसँग राम्रो अपरेटिंग सिस्टममा काम गर्न पनि अपिल गरेका थिए ।

तर फिरौती भाइरसको आक्रमणपछि कम्पनीले विन्डोज एक्सपो र विस्टाका लागि एउटा आपतकालिन उपाय जारी गरेको छ ।