आयोगको आपत्ति



काठमाडौं, (नेस)
निर्वाचन आयोगले स्थानीय तहको ऐतिहासिक निर्वाचनमा मुलुकका केही स्थानमा निर्वाचन विरोधी क्रियाकलाप गरी जनताको अभिमतको उपेक्षा र निषेध गर्ने, आतंक फैलाउनेजस्ता अप्रजातान्त्रिक गतिविधि र क्रियाकलाप भएकामा आफू गम्भीर भएको जनाएको छ। मतदान र मतपेटिका ढुवानीलगायत कार्यहरूमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीमाथि भएको हमलाप्रति आयोगले सोमबार एक वक्तव्य जारी गरी आपत्ति जनाएको हो।

आयोगले घाइते कर्मचारी एवम् सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न आक्रमणमा दिवंगत भएकाप्रति हार्दिक श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। यस्ता अवाञ्छित क्रियाकलाप गर्न नदिन सरकारले समयमानै ध्यान पुर्याउनेछ भन्दै आयोगले मतगणना, परिणाम घोषणा र त्यसपछिको अवधिमा पनि सुरक्षाको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

निर्वाचनमा अहोरात्र खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको प्रशंसा गर्दै आयोगले उच्च मनोबलका साथ मतगणनाको कार्य समयमै सम्पन्न गर्नमा सहयोग पुर्याउन सरोकारवाला सबैसँग आग्रहसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्